धार्के । हेफर ईन्टरनेशनलको सहयोगमा धादिङको १२ वटा स्थानिय तहलाई १ करोड ३१ लाख रुपैँया सहयोग हस्तान्तरण गरिएको छ । १२ वटा स्थानिय तह मध्ये जिल्लाको धुनिबेशी नगरपालिका, थाक्रे र गल्छि गाउँपालिकालाई सोमबार रकम हस्तान्तरण गरिएको हेफर ईन्टरनेशनलका कृष्ण कट्टेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार हेफरको सहयोग र फोकस नेपालको समन्वयमा छत्रेदेउराली सामाजिक उद्यमी महिला सहकारी सँस्था मार्फत धुनिबेशी नगरपालिकालाई १५ लाख, हेफरको सहयोग र फोकस नेपालको समन्वयमा आधारशिला सामाजिक उद्यमी महिला सहकारी सँस्था मार्फत थाक्रे गाउँपालिकालाई ५ लाख र हेफरको सहयोग, फोकस नेपाल र रिम्स नेपालको समन्वयमा सँस्कार महिला कृषी सहकारी सँस्था मार्फत गल्छि गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि १५ लाख रुपैँया बराबरको चेक हस्तान्तरण गरिएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुली, फोकस नेपाल धादिङकै हेमराज छत्कुली, सम्बन्धित पालिकामाआधारशिला सामाजिक उद्यमी महिला सहकारी सँस्थाका अध्यक्ष प्रमिला पण्डित, छत्रेदेउराली सामाजिक उद्यमी महिला सहकारी सँस्थाका अध्यक्ष नरमाया तामाङ, सँस्कार महिला कृषी सहकारी सँस्थाका अध्यक्ष तारादेवी श्रेष्ठ लगायत पालिका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा पालिका प्रमुख तथा उपप्रमुखहरुले सहयोग गर्ने संस्था हेफर ईन्टरनेश्नल, फोकस नेपाल तथा विभिन्न सहकारीलाई धन्यबाद ज्ञापन गर्दै सहयोगको सहि सदुपयोग गरि कोरोना रोकथाम, नियन्त्रण र नागरिकको जिवन रक्षाका लागी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यस अघि फोकस नेपालको समन्वयमा हेफरद्धारा खनियाबास र नेत्रावती गाउँपालिकामा १५ १५ लाख, ज्वालामुखी गाउँपालिकामा ८ लाख, निलकण्ठ नगरपालिकामा ४ लाख, बेनिघाट रोराङ गाउँपालिकामा १० लाख हस्तान्तरण गरिसकिएको छ ।
यस्तै प्रयास नेपालको समन्वयमा हेफरद्धारा सिद्धलेक गाउँपालिकामा ४ लाख र गजुरी गाउँपालिकामा १० लाख रकम सहयोग हस्तान्तरण भईसकेको छ भने सहयात्री समाज नेपालको समन्वयमा हेफरद्धारा त्रिपुरासुन्दरी र गँगाजमुना गाउँपालिकामा १५ १५ लाख हस्तान्तरण भईसकेको फोकस नेपालका जिवन सिलवालले बताउनुभयो ।