धार्के । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ देविस्थानका २५ जनामा कोरोना सँक्रमण देखिएको छ । सोमबार (आज) उक्त गाउँका ४६ जनामा एन्टिजिन परिक्षण गर्दा २५ जनामा सँक्रमण देखिएको धुनिवेशी नगरपालिका स्वास्थ्य शाखाका हेमन्त सुबेदीले जानकारी दिनुभयो । सँक्रमित मध्ये १८ जना महिला र ७ जना पुरुष रहेका छन् ।
यसैबिच नगरपालिकामा कोरोनाको पहिलो भेरियन्टमा २५ जना महिला र ५३ जना पुरुष गरि ७८ जनामा कोरोना सँक्रमण देखिएकोमा दोस्रो भेरियन्टमा भने यसको सँख्या निकै बढेको छ । दोस्रो भेरियन्टमा अहिले सम्म पिसिआर परिक्षण मार्फत १०४ जना महिला र १४६ जना पुरुष गरि २५० जनामा कोरोना सक्रमण देखिएको छ । सँक्रमित मध्ये ७९ जना महिला र ११२ जना पुरुष गरि १९१ जना निको भईसकेका छन् ।
नगरपालिकामा २०३ जनाको एन्टिजेन स्वाब परिक्षण गरिएकोमा ५३ जनामा कोरोना सँक्रमण देखिएको छ । यो सँगै दोस्रो भेरियन्टमा मात्रै पिसिआर र एन्टिजेन परिक्षण मार्फत ३०३ जनामा सँक्रमण देखिएको छ । पहिलो भेरियन्टमा ७८ जनामा कोरोना सँक्रमण देखिएको थियो ।
अहिले नगरपालिकाको सँस्थागत आईसोलेसनमा कोभिड सँक्रमित छैनन भने होम आईसोलेसनमा रहेका कोरोना सँक्रमितको सँख्या १२५ रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा अहिले सम्म ३ महिला र ११ पुरुष गरि १४ जनाको मृत्यु भएको छ ।
यसैबिच स्वास्थ्य कार्यालय धादिङका अनुसार धुनिवेशी नगरपालिका भरी सोमबार ३२ सहित जिल्लाभर १४६ जनामा कोरोना सँक्रमण देखिएको छ ।