सरकारले आसन्न संसद् बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल गरे सत्ता साझेदार दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिक रूपमा नमिल्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार एक अनलाइनलाई दिएको अन्तर्वार्तामा स्पष्ट पारेका छन् ।
शनिबार भएको प्रधानमन्त्री निवास बालुवाटार बैठकमा सहभागी हुनुअघि रातोपाटीसँगको विशेष कुराकानीमा माओवादी अध्यक्ष दाहालले भनेका छन्, ‘परिमार्जन र संशोधनबिना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लान हुँदैन भन्ने अडान कायम छ । तर, अब सरकारले लाने नै भयो भने त सरकारले त्यो अधिकार राख्छ ।’ राजधानी दैनिकमा खबर छ ।