नुवाकोटको बेलकोटगढीमा सुरु भएको निशुल्क स्वास्थ्य शिविरमा शुक्रबार पहिलो दिन ३१२ जनाले स्वास्थ्य परिक्षण तथा उपचार गराएका छन् । पाथीभरा महिला साना किसान कृषि सहकारी सँस्था धमलेको पहल र कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज नेपाल पोखराको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा १४४ जना पुरुष र १६८ जना महिलाले स्वास्थ्य परिक्षण तथा उपचार गराएकाे सहकारीका अध्यक्ष शान्ता खतिवडा तिवारीले बताईन् ।

निशुल्क स्वास्थ्य परिक्षण अन्तर्गत सामान्य ओपिडि परिक्षण २३३ जनाले गराएका छन् भने स्त्री तथा प्रसुती अन्तर्गत ६३ जना, डेण्टल अन्तर्गत १०५ र १८९ जनाले आँखा जाँच गराएका छन् । आँखाका बिरामी मध्ये ९ जनाको मोतिबिन्दुको अप्रेसन पनि गरिएको सहकारीका प्रवन्धक राजकुमार तामाङले बताए । निशुल्क स्वास्थ्य शिविर फागुन १ गते सम्म सञ्चालन हुनेछ ।