नुवाकोटको बेलकोटगढीमा जारी निशुल्क स्वास्थ्य शिविरमा आईतबर तेस्रो दिन ५२४ जनाले स्वास्थ्य परिक्षण तथा उपचार गराएका छन् । पाथीभरा महिला साना किसान कृषि सहकारी सँस्था धमलेको पहल र कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज नेपाल पोखराको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा २२० जना पुरुष र ३०४ जना महिलाले स्वास्थ्य परिक्षण तथा उपचार गराएको सहकारीका अध्यक्ष शान्ता खतिवडा तिवारीले बताईन् । यसअघि शुक्रबार ३१२ जना र शनिबार ५४० जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका थिए ।

निशुल्क स्वास्थ्य परिक्षण अन्तर्गत ओपिडि परिक्षण ४५३ जनाले गराएका छन् भने स्त्री तथा प्रसुती अन्तर्गत १२८ जना, दाँतको जाँच तथा उपचार १५९ र ३३३ जनाले आँखा जाँच गराएका छन् । आँखाका बिरामी मध्ये १९ जनाको मोतिबिन्दुको अप्रेसन पनि गरिएको सहकारीका प्रवन्धक राजकुमार तामाङले बताए । निशुल्क स्वास्थ्य शिविर सोमबार सम्म सञ्चालन हुनेछ ।

गाउँमा निशुल्क स्वास्थ्य परिक्षणको आयोजना हुँदा सेवाग्राही तथा स्थानिय खुसी छन् भने सेवा गर्न पाउँदा आयोजक पनि खुसी देखिएका छन् ।