धादिङ । धादिङ सिद्धलेककोे चरिमारेमा नलाङ माध्यमिक विद्यालयको नव निर्मित बिधालय भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ । आज शनिबार सिद्धलेक गाउँपालिका वडा नं १ नलाङ चरिमारेमा नलाङ माध्यमिक बिधालयको नवनिर्मित १४ कोठे भवन उद्घाटन तथा हस्तान्तरण गरिएको हो । भूकम्पले क्षतिग्रस्त बनाएको सोे विद्यालयको भवन जाईकाको आर्थिक तथा प्राविधिक सहयोग तथा जिल्ला आयोजना कार्यान्वयन ईकाई धादिङ र सिद्धलेक गाउँपालिकाको समन्वयमा १४ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि शनिबार धादिङ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य भुमि त्रिपाठीले उद्घाटन गर्नुभएको हो ।

विद्यालय भवनको अभावमा विगत करिब तीन वर्षअगाडि देखि अस्थायी टहरामा अध्ययन गर्दै आएको विद्यार्थीहरु अहिले जाईकाको आर्थिक तथा प्राविधिक सहयोगमा चौध कोठे भवन तथा शौचालय निर्माण गरेपछि सुविधा सम्पन्न भवनमा पढ्न पाउने भएका छन् । कूल रु ५ करोड ५९ लाखको लागतमा चौध कोठे भवन तथा शौचालय, बिधालय क्षेत्रमा कम्पाउण्ड तथा गेट सहित विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन ईकाई धादिङका प्रमुख युवराज बगालेले बताउनुभयो ।
उक्त विद्यालय भवन र शौचालय बालमैत्री तथा अपाङ्गमैत्री रहेको छ । कार्यक्रममा आफ्नो भनाई राख्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले भूकम्पपछि समस्या झेल्दै आएका विद्यालयका विद्यार्थीका लागि सबैको सहयोग र समन्वयमा पक्की भवन निर्माण गर्न सकेको बताउनुभयो । शिक्षालाई सुलभ एवं पहुँच योग्य बनाउने सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभएको छ ।
सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा(अधिकारी), जिल्ला आयोजना कार्यान्वयन ईकाई धादिङका प्रमुख युवराज बगालेको बिशेष आतिथ्य रहेको कार्यक्रममा गाउँपालिकाका जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्ण अर्याल, ईन्जिनियर,विभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, बिभिन्न सङ्घसंस्थाका प्रतिनिधि, बिभिन्न राजनितिक दलका प्रतिनिधि, बिधालय व्ययस्थापन समितिका पधादिकारी, शिक्षक, अभिभावकहरुको सहभागिता रहेको थियो ।
२०७६ फागुन ०३ गते प्रकाशित