धादिङ । सोमबार थप दुई जनामा कोरोना सँक्रमित भएको पुष्टि भएसँगै धादिङमा सँक्रमितको सँख्या १७६ पुगेको छ । सोमबार मात्र त्रिपुरासुन्दरी गाउँपालिकामा २ का ६५ वर्षिय महिला र धादिङ घर भएकी तर अन्य ठेगाना नखुलेको २७ वर्षिय महिलामा कोरोना पुष्टि भएको थियो ।
धादिङका १३ वटै स्थानिय तहमा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये निलकण्ठ नगरपालिकामा सबैभन्दा बढि ७४ जना रहेका छन् ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार ज्वालामुखी गाउँपालिकामा ३३ जना, त्रिपुरासुन्दरीमा २४ जना र धुनीबेसी नगरपालिकामा ९ जना सँक्रमित भेटिएका छन् ।
यसैगरी नेत्रावती डबजोङ र गल्छी गाउँपालिकामा ६र६ जना, सिद्धलेक र गजुरी गाउँपालिकामा ५र५ जना, थाक्रे, बेनिघाट रोराङ र खनियाँबास गाउंपालिकामा ३र३ जना, रुविभ्याली र गंगाजमुना गाउँपालिकामा १र१ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ३ गरी १ सय ७६ जना अहिले सम्म सँक्रमित भएका छन् । संक्रमित मध्ये निको हुनेको कुल संख्या १ सय ४८ पुगेको छ भने कोरोना संक्रमणबाट अहिलेसम्म एक जनाको मृत्यु भईसकेको छ ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार संक्रमित मध्ये १ सय २९ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ४८ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको हो ।
धादिङमा अहिले २७ जना आईशोलेशनमा रहेका छन् भने २८ जना क्वारिन्टाईनमा रहेका छन् । जिल्लामा ७६ जनाको पीसिआर रिपार्ट आउन अझै बाँकी रहेको जनाईएको छ ।