सडकको अवस्था बुझेरमात्रै यात्रामा निस्किन नेपाल प्रहरीले अनुरोध गरेको छ । मनसुनी वर्षा भइरहेको र देशका विभिन्न क्षेत्रका राजमार्गमा अवरोध भइरहेकोले यात्रु बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकोले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको हो ।
प्रहरीकाअनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको, ठाउँ÷ठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकोले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकसँग आग्रह गरेको छ ।
अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा लामो यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन आग्रह गरिएको छ । उहाँले सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न सकिने केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।