सौर्य एअरलाइन्सको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट पाइलटलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । गएको बुधवार काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो । बुधवार बिहान ११ काठमाण्डौबाट पोखरा जान लागेको सौर्य एअरको विमान उड्नेबित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको ज्यान गएको थियो ।