धादिङ । आज दिउँसो देशका केही ठाउँमा अति ठूलो पानी परेको छ । पछिल्लो तीन घण्टामा सिन्धुलीको कुसुमटारमा ६२ मिलिमिटर वर्षा भएको छ । यस्तै सोलुखुम्बुको पेकनास, धादिङको गजुरी, पर्वतको पन्चासे, दैलेखलगायतका ठाउँमा पनि अति ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धादिङको गजुरी र काभ्रेको पाँचखालमा पछिल्लो एक घण्टामै २३ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । धादिङको गजुरीमा राजमार्ग आसपास ठूलो पानी परेकोले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।यस्तै बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर धादिङको गजुरी आसपास त्रिशूली नदी, सिन्धुलीको मरिणखोला र आसपास, गोरखाको बारपाक र आसपास, काठमाण्डौ उपत्यकाको बाग्मती र बाग्मतीका अरू सहायक नदी, चितवनको शक्तिखोर र आसपासलगायतका क्षेत्रका साना ठूला नदीहरूमा बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा अति ठूलो वर्षा गराइरहेको प्रणाली रातिसम्म नै सक्रिय रहन सक्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अहिले नेपालमा मनसुनी वायुसहित वर्षा गराउने मिश्रित प्रणालीको प्रभाव रहेको उहाँले बताउनुभयो ।