धनुषाको सबैला नगरपालिका– ५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराति ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार, दुर्घटनामा गम्भीर घाइते धिरजलाई उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार १६ बर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका–२ निवासी २० वर्षीय राकेश मण्डल घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
घाइतेमध्ये निरजको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते दुवैजनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालक धनुषाधाम नगरपालिका–२ निवासी २२ वर्षीय नागेन्द्र महरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।