शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज नागपञ्चमी, पूजाअर्चना गरी मनाइँदै

आज नागपञ्चमी, पूजाअर्चना गरी मनाइँदै

  • 7.0K
    SHARES
  • काठमाण्डौँ । आज श्रावण शुक्ल पञ्चमी सनातन हिन्दुहरूले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाइँदैछ। नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको बास हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ। नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि अर्थात षष्ठी तिथिलाई छोएको पञ्चमीका दिन गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। नागपूजाको प्रचलन वैदिककाल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ। यत्राहिसायिभगवान् यत्रास्त हरिरीष्वरः। भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा। । अर्थात, आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवानको चित्र टाँसी पूजा गर्नाले बज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ। धार्मिक ग्रन्थहरू गरुण पुराण, स्कन्द पुराण, नारद पुराण, भविष्य पुराण र वराह पुराणमा नागको पूजा, अर्चनाबारेमा उल्लेख भएको पाइन्छ। वैदिकलगायत बौद्ध र जैन धर्मावलम्बीले पनि नागपूजा गर्ने प्रचलन रहेको पाइन्छ। नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ। नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ। यस उपलक्ष्यमा काठमाडौं, नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौ दह, ललितपुर धापाखेलको नाग दह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत अधिराज्यका विभिन्न नाग दहमा मेला लाग्ने गर्दछ। २०७६ साउन २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - १९:०४:३९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology