गजुरी । “घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बाल विकासले” भन्ने मुल नारालाई साकार बनाउन र बालमैत्री वातावरण तथा प्रारम्भिक बाल विकास पाठ्यक्रम सम्बन्धि ७ दिने पुर्नताजगी तालिमबाट सहजकर्ताहरुमा रहेको अन्यौलता हटेको गजुरी १ पातलिनी आधारभुत बिद्यालयकि देवकी श्रेष्ठले बताएको छ ।
श्रेष्ठकै जस्तै भनाइ बेनिघाटरोराङ २ घैराङ आधारभुत बिद्यालयको सीता मगर र बुद्धि बिकास आधारभुत बिद्यालयको लक्ष्मी चेपाङले पनि प्रयोगात्मक तालिमले बालबालिका मैत्री सहजिकरण सीप बिकास भएको बताउनु भयो ।
बालबालिकाको सर्वाङ्गिण विकासका सहजकर्ताले बालबालिकाको लागि तयार गर्ने सिकाई वातावरणले महत्त्वपूर्ण भुमिका रहेको स्पष्ट भएको पंचकन्या आधारभुत विद्यालयका बाल विकास सहजकर्ता रिता लायो मगरले बताउनुभयो । “पहिले कुन विषयमा कुन कुराहरुलाई पढाउने अन्यौलमा थिएँ । तालिममा पाठ्यक्रम र मापदण्डहरु सिक्ने अवसर पाएँ, अब बालबालिकालाई अझै राम्रो वातावरणमा सिकाउँछु” । तालिममा सहभागि अधिकांश बाल विकास सहजकर्ताले आफुहरुलाई पाठ्यक्रमको जानकारी तालिमबाट भएको बताएका छन् ।
त्यसैगरी बाल विकास केन्द्रमा आवश्यक मात्रामा शैक्षिक सामाग्री नभएको भन्दै बिद्यालय व्यवस्थापन र स्थानीय तहमा समन्वय तथा स्थानीय स्रोत र साधनको प्रयोगबाट नै शैक्षिक सामग्री निर्माण गर्ने सीप हाँसिल भएकोले सामग्री निर्माण गरि बाल विकास कक्षामाआफुले सिकेका कुराहरुलाई विद्यालयमा गई व्यवहारमा ल्याउने प्रतिवद्धता समेत जनाएका छन् ।
जिल्लाको बेनिघाट रोराङ र गजुरी गाउँपालिकाको विद्यालयका १२ जना बाल विकास सहजकर्ताहरु तालिममा सहभागिता रहेको थियो । तालिममा विद्यालयको प्रारम्भिक बाल विकास केन्द्रलाई कसरी बालमैत्री बनाउन सकिन्छ रु र प्रारम्भिक बाल विकास पाठ्यक्रम र सिकाईका न्युनतम मापदण्डका विषयमा छलफल तथा अभ्यास गरीएको थियो ।
तालिम श्रावण ३२ गते शनिबार देखि भदौ ६ शुक्रबारसम्म गजुरीमा समापन गरीएको हो । तालिम समापन कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले तालिममा सहभागिलाई तालिमले आफुमा भएको ज्ञानलाई माझ्ने काम गर्ने भन्दै आफ्नो ज्ञानको क्षेत्र बढाउनको लागि आफैले प्रयास गरे सफल भईने बताउनु भयो । त्यसैगरी बालबालिकालाई सिकाउने क्रममा नयाँ नयाँ व्यावहारीक सिकाईलाई जोड दिदै विभिन्न सिकाई विधि प्रयोग गर्दा समेत छिटो सिकाई र प्रभावकारी हुने कुरामा जोड दिनुभयो । तालिममा सिकेका अभ्यासहरु व्यावहारमा नल्याउँदा तालिम निस्प्रभावि हुने निर्देशक अर्यालको भनाई छ ।
प्रयास नेपाल धादिङ र प्लानेट ईन्फान्ट एण्ड डेभलपमेण्टको साझेदारीमा संचालित महिला संरक्षण तथा सशक्तिकरण परियोजना अन्र्तगत सो तालिम संचालन गरिएको कार्यक्रम संयोजक सुनिल केसीले जानकारी दिनु भयो । तालिममा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोग रहेको पनि केसीले बताउनु भयो । महिला तथा किशोरी हिंसा बिरुद्धको परियोजनाले विगत ४ वर्ष देखि बेनिघाटरोराङ र गजुरी गाउँ पालिकाका चेपाङ समुदायमा लक्षित गरी काम गर्दै आईरहेको छ ।
समुह छलफल, अत्यावश्यक सरकारी कागजात बनाउनको लागि सहजीकरण गर्ने तथा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय सहभागिता र निरन्तरताको लागि सहजीकरण गरीरहेको छ यसैगरी स्वास्थ्य, शिक्षा, जिविकोपार्जन र मनोसामाजिक जस्ता विषयगत क्षेत्रमा समन्वय, सहकार्य र सहजिकरण गर्दै आईरहेको छ । महिला संरक्षण तथा सशक्तिकरण कार्यक्रमले ४५ वटा समुह, १६ वटा विद्यालयमा बालबालिकाहरुको शैक्षिक गुणस्तर र बिद्यालय भर्ना तथा टिकाउ र सिकाई उपलब्धि बृद्धिका लागि सहजिकरण गरी रहेको सामाजिक परिचालक उषा थापा मगरले जानकारी दिनु भयो ।
२०७६ भदौ ८ गते प्रकाशित