काठमाण्डौ । यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ को प्यारोडी प्रमोसनल गीत अहिले चर्चामा छ । गायक दुर्गेश थापाको स्वरमा रहेको पप शैलीको तीज गीत ‘बिच्च बिच्चमा’ को संगीतमा रमाइला टुक्का जोडेर फिल्म हेर्न दर्शकलाई आग्रह गरिएको छ । गीतमा दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ ।
भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा खिचिएको गीतको भिडियोमा गायक दुर्गेशसहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला फिचर्ड छन् । यो गीतका कारण फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।
दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ मा दीपकराजले एक युवा नेताको भूमिका निभाएका छन् । जसको आफूभन्दा आधा उमेर कम युवती (केकी अधिकारी) सँग प्रेम बस्छ । फिल्ममा कलाकार जितु नेपालको जोडी अभिनेत्री सुपुष्पासँग बाँधिएको छ । यसअघि फिल्मको ‘जूनको जुनेली’ गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । जसले यूट्युबमा राम्रो भ्यूज पाएका छन् ।
https://youtu.be/L61fK690XPw
अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । फिल्मलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् ।
फिल्मको कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोहित अधिकारीको निर्माण रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । फिल्म असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।
२०७६ असोज १२ गते प्रकाशित