२२, कार्तिक २०७६
धादिङको धुनिबेशी नगरपालिका देशकै कान्छो नगरपालिका हो । २०७३ साल चैत्र २७ गते मात्रै घोषणा भएको र ३० गते मात्रै राजपत्रमा सूचना निक्लिएको नगरपालिका हो । नगरपालिका घोषणा भएपछि अहिले सम्म के कति काम भयो ? समस्या के छन् ? विकास निर्माणमा धुनिबेशी नगरपालिकाले फड्को मारेको छ त लगायतका विषयमा नगरप्रमुख बालकृष्ण आचार्य सँग गरिएको कुराकानीको सार सँक्षेप ।
धुनीवेशी नगरलाई समृद्ध बनाउन के–के कुरालाई प्राथमिकता दिएर अगाडी बढि रहनुभएको छ ?
जनप्रतिनिधीका रुपमा आईसकेपछि कार्यलय भवन समेत नभएको अवस्थामा नियम कानूनदेखि कार्यालय भवन समेत बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरँे । कार्यलय भवनदेखि नियम, कानून र कर्मचारी ब्यवस्थापन गरिसकेका छौं । मेरो दुई वर्ष कार्यकाल कार्यलय भवन ब्यवस्थापन, नगरपालिकालाई आवश्यक नियम, कानून निर्माण र कर्मचारी ब्यवस्थापनमै बित्यो । जनताले सोचे जसरी आजको भोली नै गाउँ अनि बजार विकासले परिवर्तन हुने हैन, क्रमिक रुपमा विकास भईरहेको छ । सुशासनलाई अझ बढी प्रभावकारी बनाउँदै लाने, नगरमा रहेका सडक र पैदलमार्गलाई बाह्रै महिना सञ्चालन गर्ने र नगर बस सञ्चालन गर्ने लगायतका योजना अनुसार बजेट छुट्टाएर काम गरिरहेका छौं ।
नगरपालिकाले बनाएका अन्य सडकलाई ब्यवस्थित बनाउन कस्तो काम गरिरहेको छ ?
नगरभित्रको धार्के–सितापाईला सडक, भिमढुङ्गा–लामिडाँडा सडक यो हिजो केन्द्र सरकारले बजेटिकरण गरेको सडक हो । अहिले अर्को बाँड–भन्ज्याङ–मसिने सडक पनि जाईकाले बनाउन शुरु गरिसकेको छ । यी सडकहरु केन्द्र सरकारले शुरु गरेको छ, केन्द्र र स्थानीयतह कसले बनाउने भन्ने कुरामै अलमल भएकाले पनि यो राष्ट्रिय राजमार्ग बन्नमा ढिलाई भएको हो । अहिले अन्तिममा प्रदेश सरकारले नै बनाउने निर्णय भयो । अब आ.व.२०७६÷०७७मा यी सडक बन्ने छन् र अन्य स्थानीय सडकहरु त हाम्रो प्राथमिकतामा छदैँछ ।
नगरपालिकामा अहिले खानेपानीको अवस्था के कस्तो छ ?
खानेपानीको बिकल्प छैन, पानी बिना हामी बाच्न सक्दैनौं, त्यसैले अहिले नगरले खानेपानी समस्या सदाको लागि अन्त्य गर्ने योजना बनाएर अगाडि बढिरहेको छ । विगतमा हाम्रो बा–आमाले भन्ने गर्नुहुन्थ्यो खान पाईन्छ, पानी पाईदैन, भात खान पाईन्छ, पानी खान पाईदैन भन्ने ठाउँ हो यो लामीडाँडा । दैनिक ४/५ घण्टा पानी बोकेर खानुपर्ने बाध्यतालाई अन्त्य गर्दै अहिले २४सैँ घण्टा पानीको ब्यवस्था गरिएको छ । जनताले कल्पनै नगरेको ठाउँमा पनि हामीले डिप बोरिङमार्फत पानी तानेर खुवाएको छांै । नगरमा खानेपानीको समस्या छैन भन्दा हुने भएको छ ।
ग्रामिण क्षेत्रमा रहेको पर्यटकिय स्थल तोप्लाङ/सिसापानीका जनताले नगरबासी भएको अनुभुति गरेका छन् त ?
हो, यो ठाउँ ठुलो हाईटमा छ, यहाँबाट मनोमोहक ८ हिमालको दृश्य देख्न सकिन्छ । जनप्रतिनिधी आईसकेपछि अहिले बाटो पुगेको छ, बिजुली बत्ती थिएन, अहिले बत्ती पुगेको छ, अब खानेपानीको ब्यवस्था गर्दै छौं । त्यहाँका जनताले विकासको अनुभुति गरिरहेका छन् । हामीले त्यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागेका छौं ।
“समृद्ध धुनिबेंशी र सुखी धुनिबेंशीबासी” भन्ने नारालाई कार्यान्वयनमा नगरपालिकाले ल्याएको छ त ?
“समृद्ध धुनिबेंशी र सुखी धुनिबेंशीबासी” भन्ने नारालाई हामीले ब्यवहारमा उतार्न नीति र कार्यक्रम ल्याएका छौं । नगरपालिकाले सबै वडालाई समानुपातिक रूपमा बजेट विनियोजन गरेर आवश्यकता अनुसार थप बजेट पनि दिईरहेका छौं । सबै वडाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा उच्च प्राथमिकता तोकेरै बजेट विनियोजन गरेका छौं । अहिले काठमाडौंको फोहोरले नगरलाई समस्या थपिरहेको छ, नुवाकोट ओखरपांैवामा फालेको फोहोर चिल, कागले ल्याएर छानामाथि फाल्ने समस्याले गर्दा धुनिबेंशीका स्थानीय फोहोर फाल्ने ठाउँ दिनै मान्दैनन् । अहिले हामी फोहोर राख्ने ठाउँको ब्यवस्थापन गर्दैछांै । इट्टा भट्टाको कुरा गर्दा अहिले २७ वटा भट्टाहरु सञ्चालनमा रहेका छन् । अहिले त्यसबाट आउने फोहोर ब्यवस्थापनमा नयाँ प्रविधी जडान गर्न उद्योगी ब्यवसायीलाई सुझाव दिएका छौं । त्यसअनुसार भए नभएको अनुगमन गरेर कारवाही गर्ने नीति बनाएका छौं ।
पुरा कुराकानी सुन्न र हेर्न तलको भिडियो हेर्नुहोस् ।
https://youtu.be/fZufeLs5Ut4
प्रकाशित मिति :कार्तिक २२, २०७६ शुक्रवार -
०२:५९:०२ बजे