काठमाडौं । नेपालमा कोरोना भाइरसको रोकथामका लागि सक्रिय भूमिका निभाउँदै आएको राष्ट्रिय आविष्कार केन्द्रले अब स्वाब संकलनका लागि आवश्यक पर्ने मेसिन समेत बनाउने भएको छ । आविष्कार केन्द्रले स्वास संकलन गर्ने मेसिन बनाउन आवश्यक पर्ने सामग्री जापानबाट आयात गरी नेपालमै बनाउन लागेको हो ।
आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महाबीर पुनले आवश्यक सामग्री जापानबाट नेपाल आइसकेको र केही दिनमै तयार हुने जानकारी दिएका हुन् ।
उनका अनुसार १४ लाख रुपैयाँ मूल्य पर्ने कोरोना स्वाब निकाल्ने सुइरो बनाउने थ्रीडी प्रिन्टर र अन्य सामाग्री नेपाल एअरलाइन्समार्फत केहि दिनअघि काठमाडौं आइपुगेको हो । उनले कोरोना रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सामग्री समेत सहयोग भएको जानकारी दिएका छन् । यसअघि उनले कोरोना रोकथामका लागि माक्स, पीपीई उत्पादन गरी स्वास्थ्यकर्मी लगायतलाई उपलब्ध गराएका थिए ।