खानिखोला । धादिङको धुनिबेशी नगरपालिकाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । महिलाको हक अधिकार र कानुनी आधार लगायतको विषयमा भएको कार्यक्रममा घरेलु तथा महिला हिँसा, बलात्कार, वाल तथा बहुविवाह, महिलालाई पैतृक सम्पतीको अधिकार लगायतको बारेमा छलफल भएको हो ।
महिलाको सुरक्षा, सम्मान र रोजगार सम्वृद्ध नेपालको आधार भन्ने नाराका साथ भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता लक्ष्मी प्रसाद अधिकारीले सहभागीबाट आएका विभिन्न प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रमुख रुपा थापाले समाजमा हुने महिला हिँसाको बारेमा खुलेर बोल्न आग्रह गर्नुभएको छ । कुनै पनि समस्याको समाधान गर्न आफु सदैव तयार रहेको थापाको भनाई छ ।
यस्तै कार्यक्रममा नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नगरपालिकाले महिला शसक्तिकरणको लागि विभिन्न योजनाहरु ल्याएको बताउनुहुँदै आगामी दिनमा पनि विभिन्न क्रियाकलापहरु सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा नगरपालिकाका उपमेयर निरु खरेलले नगरपालिकाले शहर बजार केन्द्रित मात्र नभई विकट स्थानहरुमा पनि महिला शशक्तिकरण कार्यक्रम लगेको बताउनुभएको छ । कुनै पनि समस्या आए आफु, प्रहरी लगायत सँग समन्वय गर्न पनि उहाँले सहभागीहरुलाई अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा जिल्ला सहकारी सँघ धादिङका अध्यक्ष रामचन्द्र आचार्य, वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णकुमार रेग्मी, वडा नम्बर ९ का वडा अध्यक्ष साईँला राई, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न सँस्थाका प्रमुख एवम प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।