काठमाण्डौं । पशुपति क्षेत्र विकास कोषले सर्वसाधारणका लागि पशुपतिनाथको मन्दिर दर्शनमा रोक लगाएको छ । कोषले कोरोना भाइरस संक्रमण दर बढेकाले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरको दर्शनमा रोक लगाएको हो ।
कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले एक सुचना प्रकाशित गर्दै वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको जनाएका छन् ।
कोषले कोरोना संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको हो । त्यस्तै सरकारले संक्रमण रोग ऐन, २०२० को दफा २ अनुसार आदेश जारी गरेअनुसार निर्णय लिइएको विज्ञप्तिमा भनिएको छ ।