धादिङ । सरकारले बढी भएको शिक्षक दरबन्दी खारेज गर्ने भएको छ। बजेट वक्तव्यमार्फत् सरकारले त्यसको तयारी गरेको हो। सरकारले शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने जनाउँदै प्राथमिक तहमा बढी भएको दरबन्दीलाई माध्यमिक तहमा रुपान्तरण गर्ने जनाएको हो।
‘प्राथमिक तहमा बढी हुने दरबन्दी माध्यमिक तहमा रुपान्तराण गरी बढी भएको दरबन्दी खारेज गरिनेछ।’ बजेट वक्तव्यमा उल्लेख छ। सरकारले माध्यमिक तहका विद्यालयमा विद्यार्थी संख्याको अनपातमा विज्ञान, गणित र अँग्रेजी विषयका शिक्षक व्यवस्था गर्न थप अनुदानका लागि रु २ अर्ब ६६ करोड विनियोजन गरेको छ।
दुई वर्षअघि सरकारले पूर्व सचिव महाश्रम शर्मा संयोजकत्वको कार्यदलले बनाएको शिक्षक दरवन्दी पुनर्वितरण सुझाव कार्यदलले सामुदायिक विद्यालयमा कूल ५७ हजार ५६ शिक्षक दरबन्दी कम भएको तथ्य बाहिर ल्याएको थियो। अहिले देशभर प्राथमिक तहको शिक्षक दरबन्दी ८० हजार एक सय ७६, निम्न माध्यमिकमा १६ हजार दुई सय ४४, माविमा १२ हजार सात सय २५ र साबिकको उच्च माध्यमिकमा दुई हजार दरबन्दी रहेको तथ्यांक छ। नागरिक दैनिकले खबर छापेको छ ।