शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

असारदेखि निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने तयारी

असारदेखि निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने तयारी

नागरिक पाटी

२६, जेठ २०७८
  • 5.8K
    SHARES
  • असारदेखि निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने तयारी

    काठमाण्डौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिए ।

    images
    images

    “यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइनेछ”, दाहालले भने “केही सहजीकरण भने पक्कै हुनेछ ।”

    सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।

    कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ ।

    सोमबार झण्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको र छ हजार ९५१ सङ्क्रमित निको भएका छन् । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ । त्यसअघि १८ हजारको परीक्षणमा कम्तिमा पनि आठ हजारमाथि सङ्क्रमित फेला पर्दै आएका थिए । मानिसको मृत्यु तीन अङ्कको थियो ।

    कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपाली भने त्यो गल्ती नदोहोरिने स्पष्ट पारे । उनका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ ।

    उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्वब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने अझै खुल्नेछैन ।

    मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ । दाहालले भने “दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय छ, मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्णस्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ । निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य मन्त्रालय बुझाइ छ । त्यसैले पनि एकैचोटी खुला गर्न नहुने पक्षमा मन्त्रालय पनि छ ।

    काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे यो साताको समीक्षाका आधारमा उपत्यकाको निषेधाज्ञाको निर्धारण हुने बताउछन् । पछिल्लो समयमा सङ्क्रमण घटेकाले पनि केही खुकुलो हुने आशा आमनागरिकले पनि लिएका छन् ।

    निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् । उपत्यकामा समेत त्यो अवस्था देखिएको छ । अहिले नै लापरवाही गर्ने अवस्था नरहेको जनस्वास्थ्यविद्को भनाइ छ । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालकया सह–प्रवक्ता डा। समीरकुमार अधिकारी बताउछन् ।

    दोस्रो कोरोनाको लहरसँगै नेपालमा गत वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्ने क्रम शुरु भएको थियो । सङ्क्रमण नियन्त्रणका लागि वैशाख १३ गते बाँके र १४ गते सुर्खेतमा गरिएकामा १६ गतेदेखि उपत्यकासहीत धेरै जिल्लाले निषेधाज्ञा जारी गरेका थिए । जेठ मसान्तसम्म खोटाङ र मनाङ बाहेकका ७५ जिल्लाले निषेधाज्ञा जारी सङ्क्रमण नियन्त्रणमा सक्रियता देखाइरहेका छन् ।

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर आदेशको पूर्ण कार्यान्वयनमा ७७ वटै जिल्लाका प्रहरी खटिएको बताउछन्। अझै पनि मानिस आफ्नो स्वास्थ्यका लागि सचेत नभएको उल्लेख गर्दै उनले प्रहरी देखे मात्रै मानिस सचेत हुने त्यसपछि लापरवाही गर्ने क्रम कायम रहेको बताउनुभयो । चिकित्सकले आफूबाहेक सबै कोभिड सङ्क्रमित हो भनेर व्यवहार गर्न नागरिकसँग अनुरोध गरिरहेका छन् । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - ०८:०९:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology