धादिङ । धुनिबेशी नगरपालिका वडा नम्बर ३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । वडा नम्बर ३ रमाईलोचौरमा निर्माण गरिएको भवनको नगरप्रमुख बालकृष्ण आचार्यले बुधबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख निरु खरेल, वडा अध्यक्ष प्रकाश हमाल, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल लगायतको सहभागिता रहेको थियो ।
भवन निर्माणको लागि नगरपालिकाले ज्वालामुखी हरित तारा जेभी सँग सम्झौता गरेको हो । गत महिनाको जेठ ३० गते निर्माण सम्पन्न गर्ने गरि गत वर्षको असार १८ गते देखी काम सुरु भएकोमा गत महिनाको जेठ १६ गते नै निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
भवनका लागि २ करोड २३ लाख ५८ हजार रुपैँया बराबरको स्टिमेट भएकोमा १ करोड ६३ लाख ८५ हजार रुपैँयामा ठेक्का सम्झौता भएको थियो । निर्माण सम्पन्न पछि नगरपालिकाले निर्माण कम्पनीलाई १ करोड ६३ लाख ८२ हजार २ सय ४१ रुपैँया भुक्तानी गरिसकेको नगरपालिकाका ईन्जिनियर रामशरण अधिकारीले बताउनुभयो । यसैबिच बुधबार नै नगरपालिकाको ९ नम्बर वडा कार्यालय भवनको पनि उद्घाटन गरिएको छ ।
यो पनि : धुनिबेशी नगरपालिका वडा नम्बर ९ को नवनिर्मित भवन उद्घाटन, १ करोड ४५ लाख ९४ हजार रुपैँयामा निर्माण