धादिङ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, धार्केको आयोजनामा वित्तीय साक्षरता तथा समूह गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
सजिलो महिला समूह धार्केका अध्यक्ष सविना गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयका सहायक प्रबन्धक मदन रिजालको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा संस्थाका अनुगमन अधिकृत रामचन्द्र लोहनी, परेवाटार शाखा प्रमुख सरोज श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटन अध्यक्ष सविना गजुरेल र प्रमुख अतिथि मदन रिजालले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो । शाखाका सहायक चन्द्रराम लुहारले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रिजालले सहभागीहरुलाई संस्थाको संरचना, प्रगति विवरण, नीति तथा सञ्चालन प्रक्रिया र समग्र लघुवित्त क्षेत्रका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले वित्तीय साक्षरता भनेको पैसा कमाउने मात्र नभई कमाएको पैसाको उचित व्यवस्थापन, नियमित बचत, आवश्यकताअनुसार ऋण लिने, ऋणको सही सदुपयोग गर्ने तथा भविष्यका लागि आर्थिक योजना बनाउने ज्ञान भएको बताउनुभयो । उहाँले आम्दानीको केही हिस्सा नियमित रूपमा बचत गर्ने बानीले आर्थिक अनुशासन कायम गर्न सहयोग पुग्ने उल्लेख गर्दै आकस्मिक अवस्थाका लागि रकम छुट्याउन र बचतलाई खर्चपछि होइन, आम्दानी प्राप्त भएपछि नै छुट्याउने बानी बसाल्न आग्रह गर्नुभयो ।
लघुवित्त समूह ऋण लिने माध्यम मात्र नभई एकअर्काबाट सिक्ने, समस्या समाधान गर्ने, आर्थिक अनुशासन कायम गर्ने तथा आवश्यक पर्दा एकअर्कालाई सहयोग गर्ने साझा मञ्चसमेत भएको रिजालको भनाइ थियो । उहाँले समूह सदस्यहरुलाई नियमित बैठकमा सहभागी हुन, आफ्ना समस्या खुलस्त राख्न तथा ऋणको सही उपयोग र व्यवसायका अनुभव एकअर्कासँग आदानप्रदान गर्न आग्रह गर्नुभयो ।
परिवारको आर्थिक व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले आम्दानी, आवश्यक खर्च, बचत, लगानी र ऋण भुक्तानीलाई समेटेर सामान्य आर्थिक योजना बनाउनुपर्ने बताउनुभयो । साथै, मोबाइल बैंकिङ तथा डिजिटल भुक्तानीको प्रयोग बढिरहेको अवस्थामा पासवर्ड, ओटीपी तथा बैंकिङ विवरण अरूलाई नदिन र अपरिचित लिंक तथा फोनबाट सावधान रहन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा समूह सदस्यका तर्फबाट गिता लामाले प्रतिनिधिमूलक मन्तव्य राख्नुभएको थियो । उहाँले धुनिबेसी नगरपालिकाले प्रदान गरेको सवारी चालक तालिमपछि लघुवित्तबाट ऋण लिएर अटो सञ्चालन गरी आम्दानी गरिरहेको अनुभव सुनाउनुभयो ।
कार्यक्रममा सहभागीहरुले संस्थाको सेवा, ऋण तथा बचतलगायत विभिन्न विषयमा आफ्ना गुनासा, सुझाव तथा अपेक्षा प्रस्तुत गरेको धार्के शाखा प्रमुख देवकी श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट समूह, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट व्यवसायीलाई सम्मानसमेत गरिएको छ । उत्कृष्ट समूहतर्फ प्रथम पुराण्डी महिला समूह, द्वितीय कालीदेवी महिला समूह र तृतीय व्यक्तिगत महिला समूह घोषित भएका थिए ।
उत्कृष्ट बचतकर्ताका रूपमा सृजना उप्रेती र उत्कृष्ट व्यवसायीतर्फ अनिता श्रेष्ठ तामाङलाई खादा, प्रमाणपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अनुगमन अधिकृत रामचन्द्र लोहनीले वित्तीय साक्षरता व्यवहारमा लागू गर्न सके मात्र त्यसको वास्तविक अर्थ रहने बताउनुभयो । उहाँले नियमित बचत, ऋणको सही सदुपयोग र आर्थिक अनुशासनलाई प्राथमिकता दिन समूह सदस्यहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा सहभागीका गुनासा, सुझाव तथा अपेक्षालाई सम्बोधन गर्दै प्रमुख अतिथि मदन रिजालले संस्थाले सदस्यको आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।