नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कात्तिक १५ देखि सडक दस्तुर संकलन सुरु भएको थियो । सडक दस्तुर लागू भएको आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनबाट पहिलो दिनमै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।
पन्थीका अनुसार सुरुङमार्गको औसत वार्षिक दैनिक सवारी चाप करिब ८ हजार ५०० रहेको छ । दशैंको समयमा दैनिक १० हजारभन्दा बढी सवारीसाधनले सडक प्रयोग गरेका थिए ।
तर सुरुङमार्गमा दैनिक करिब पाँच हजार सवारीसाधन चल्ने प्रारम्भिक अनुमान आयोजनाको थियो । पहिलो दिनमै अनुमानभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।
नागढुंगा सुरुङमार्ग प्रयोग शुल्कबाट वार्षिक ३५ देखि ४० करोड रुपैंयाँ संकलन हुने अनुमान रहेको पन्थीले बताए । सवारी चाप, प्रयोगकर्ताको प्रतिक्रिया र आम्दानीको अवस्थाका आधारमा आगामी दिनमा यसको वास्तविक अवस्था स्पष्ट हुँदै जाने पन्थीको भनाई छ ।