धादिङ । धादिङको थाक्रे गाउँपालिका–११, बेलटारस्थित गोगनपानी साना किसान कृषि सहकारी संस्थाको २७औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले बद्रीप्रसाद रुपाखेतीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा निर्मला पोखरेल अधिकारी र सचिवमा रामहरि थापा चयन हुनुभएको छ।

सदस्यहरूमा मधुप्रसाद सुवेदी, शुक्रबहादुर तामाङ, बलबहादुर नेपाल, सरस्वती अर्याल र राजुमान तामाङ रहनुभएको छ। यस्तै, लेखा समिति संयोजकमा राधिका देवी पौडेल तथा सदस्यमा रोमनाथ सुवेदी र रामचन्द्र रिजाल चयन हुनुभएको छ।
संस्थाका अध्यक्ष बद्रीप्रसाद रुपाखेतीको अध्यक्षता तथा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष रुपाखेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा संस्थाको दैनिक कार्य सञ्चालन, सदस्य प्रोत्साहन कार्यक्रम तथा आगामी नीति र कार्यक्रम समेटिएको छ। कार्यक्रममा संस्थाका प्रबन्धक सञ्जय सुवेदीले प्रगति प्रतिवेदन तथा लेखा समिति संयोजक माधवप्रसाद खतिवडाले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

वि.सं. २०५३ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ७० लाख २७ हजार रुपैयाँ रहेको छ। संस्थामा ११ करोड २ लाख ५५ हजार ५ सय १५ रुपैयाँ निक्षेप तथा १६ करोड ८७ लाख १० हजार ५ सय ७९ रुपैयाँ ऋण लगानी रहेको प्रबन्धक सञ्जय सुवेदीले जानकारी दिनुभयो।
संस्थाले गत आर्थिक वर्षमा १ करोड ३१ लाख ७६ हजार ७ सय ७७ रुपैयाँ खुद नाफा गरेको छ भने संस्थाको कुल दायित्व २२ करोड ९८ लाख ४८ हजार १ सय ३५ रुपैयाँ रहेको जनाइएको छ।
हाल सहकारीमा १ सय ७७ वटा समूह तथा ८ सय ६६ जना शेयर सदस्य रहेका छन्। साधारण सभाका अवसरमा सहकारीले उत्कृष्ट शेयर सदस्यहरूलाई विभिन्न विधामा नगद सहित सम्मानसमेत गरेको जनाएको छ।

कार्यक्रममा साना किसान कृषि सहकारी संघ धादिङका अध्यक्ष अप्सरा अधिकारी, साना किसान विकास लघुवित्त वित्तीय संस्था गजुरी शाखाका प्रबन्धक विशाल तुलाधर, थाक्रे–११ का वडाध्यक्ष सुदर्शन पाण्डे, गल्छी–८ का वडाध्यक्ष विशाल लुङ्गेली मगरलगायत विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र शेयर सदस्यहरूको सहभागिता रहेको थियो।