वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूले राति प्रचारप्रसार गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले बनाएको आचारसंहिता र दलहरूले गरेको प्रतिबद्धता पत्रमा प्रचारप्रसारको समय तोकिएको छ।
जसअनुसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनावी प्रचारप्रसारका काम गर्न पाइनेछ। आयोगले मंगलबार दलहरूलाई यो आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धतासमेत लिएको छ।
‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने,’ निर्देशनमा भनिएको छ। साथै चुनावको दिन उम्मेदवारले लिने सवारी साधनबाट मतदाता बोक्नसमेत नपाइने आयोगको भनाइ छ।