फाइल फाेटाे
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिबाना गरिने भएको छ ।
पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिबानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयाे ।
तस्बिर खिच्न मनाही गरिएको ठाउँको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० जरिबाना रुपैयाँ गर्न लागिएको हो । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उहाँले दिनुभयो ।
कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।
तीजका व्रतालुलाई चार ठाउँबाट प्रवेश गराइने
कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन नयाँ लाइनको व्यवस्था गर्ने भएको छ । तीजको तयारीका लागि हिजाे कोषले आयोजना गरेको छलफल कार्यक्रममा कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइएको हो ।
यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । यस क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयवागेश्वरी टोल सुधार समितिले पाएको छ । तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लाइनको व्यवस्था गरिएको छ । दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ । यहाँ पशुपति सृजनशील युवा क्लबले जुत्ता चप्पल सुरक्षित राखेर भक्तजनलाई सहयोग गर्ने जिम्मेवारी लिएको छ ।
तेस्रो लाइन गौशाला–पिङ्गलठाउँ–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भाग राखिने छ । यस ठाउँको जुत्ता चप्पल व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ ।
चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ । यहाँ भक्तजनको जत्ता चप्पल सुरक्षित राखिदिने जिम्मेवारी नवरथ स्काउट ग्रुपले लिएको छ । रासस