शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण

धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण

नागरिक पाटी

१७, बैशाख २०८१
  • 3.0K
    SHARES
  • धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण

    सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ ।

    images
    images

    उत्तरी धादिङको तीन गाउपालिकालाई प्रत्यक्ष लाभ पुर्याउने पुलको आइतबार सङ्घीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्तरुपमा उद्घाटन गरे। खनियाँबास–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङखोलामा बनेको उक्त पुल ४२ दशमलव ६७ मिटर लामो र चार दशमलव दुई मिटर चौडा रहेको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा सो पुल निर्माण सम्पन्न भएको हो ।

    वर्षाको समयमा पानी बढेपछि खोला तर्न नसक्दा उत्तरी धादिङका स्थानीयलाई सदरमुकामबाट दैनिक उपभोग्य सामान लैजानसमेत कठिनाइ थियो । बिरामी पर्दा हेलिकप्टरको सहारा लिनुपर्ने बाध्यता थियो । उनीहरु अब त्यो बाध्यताबाट मुक्त भएका छन् । उत्तरी धादिङलाई जोड्न अझै दुई पुल बनाउन आग्रह गरिएको सांसद अधिकारीले बताए ।

    कूल रु एक करोड १० लाखको लागतमा सो पुल निर्माण गरिएको हो । पुल निर्माणकोे खर्च सुरुमा खनियाँबास गाउँपालिका र पछि नुवाकोटको किस्पाङ गाउँपालिका, गङ्गाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए । धादिङको उत्तरी भेगलाई सदरमुकाम धादिङबेँसी जोड्ने यो नै मुख्य मार्ग भएकाले पुल निर्माणले जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने उनको भनाइ छ ।

    ट्रयाक खोलिएको झन्डै चार दशकपछि पुल निर्माण हुँदा उत्तरी क्षेत्रका स्थानीय खुसी छन् । “पुल बनेपछि हामीलाई घरकै ढोका खुलेकोजस्तै अनुभव भइरहेको छ”, स्थानीय प्रकाश तामाङले भने–“सडक भएर पनि पुल नहुँदा घन्टौँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य थियौँ । कृषिजन्य उत्पादन गाउँमा हरेक वर्ष कुहिएर जान्थ्यो । अब कृषिजन्य उत्पादन गाडीमा बजारसम्म लगेर बिक्री गर्ने र घर खर्च चलाउने, चाडपर्व मनाउने धोको पूरा हुने भएको छ ।”

    नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्रि ए र थ्रि बिको स्वामित्वमा रहेको बेली ब्रिज बेत्रावतीबाट ल्याएर किन्ताङफेदीमा जडान गरिएको हो । गत असोज १२ गते शिलान्यास भएसँगै नेपाली सेनाको १४ नम्बर बाहिनीअड्डाको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - ११:०७:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology