धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ कार्किडाँडामा रहेको किराञ्चोक कार्किडाँडा माध्यमिक बिद्यालय स्थापना भएको १०० बर्ष पुगेको छ । स्थापनाको एक सय बर्ष पुगेको अवसरमा बिद्यालयले यहि माघ १९ देखि २१ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरि शताव्दी महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेनुका पराजुलीले बताउनुभयो ।
यस अवसरमा गल्छी गाउँपालिका स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, खेलकुद, शिक्षक बिद्यार्थीहरुबाट नृत्यका साथै पूर्व शिक्षक, बिद्यार्थी, बिद्यालयका संस्थापकहरुलाई सम्मान कार्यक्रम गर्न लागिएको बिद्यालयका प्रधानाध्यापक पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो ।
बिक्रम सम्वत १९८२ माघ २१ गतेका दिन भाषा पाठशालाका रुपमा स्थापना भएको किराञ्चोक कार्कीडाँडा माध्यमिक विद्यालय जिल्लाकै पुरानो बिद्यालयको रुपमा चिनिन्छ ।
धेरै बर्ष सम्म खुल्ला चौर, चौतारो, कटुसे छाप्रो, ढुंगा माटोको गाह्रो भएको कोठामा पढाई सञ्चालन हुने गरेकोमा अहिले सुविधा सम्पन्न भवन सहितको विद्यालयमा पठन पाठन हुने गरेको विद्यालय व्यवस्थापन समितीका सदस्य सुमन सुवेदीले बताउनुभयो ।
भाषा पाठशालामा २००४ सालबाट संस्कृत बाहेक अन्य पठन पाठन शुरु भएकोमा भाषा पाठशाला हुँदै २०३२ सालमा प्राथमिक बिद्यालय, २०३४ मा निम्न माध्यमिक बिद्यालय, २०५४ मा माध्यमिक बिद्यालय र २०६८ मा उच्च माविको अनुमति पाएको यस बिद्यलायबाट अहिले सम्म ७९४ जनाले एसएलसी एसइई र २०० जनाले १२ कक्षा उतिर्ण गरेको बिद्यालयका प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रपुरुष ढकाल, पूर्व न्यायाधिश दामोदर पुरुष ढकाल, प्रा.डा.रामचन्द्र गौतम, प्रा.डा.डिल्ली प्रसाद गौतम (हाल स्वर्गिय), पूर्व एसएसपी एवं साहित्यकार श्री पुरुष ढकाल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, पूर्व प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, पूर्व प्रजिअ शिवेन्द्र पुरुष ढकाल, प्राध्यापक सिद्धिनाथ गौतम, कुलेन्द्र पुरुष ढकाल, बरिष्ठ साहित्यकार कृष्ण गौतमले अक्षर चिनेको किराञ्चोक कार्कीडाँडा मावि स्थापनाको सय बर्ष विविध कार्यक्रमका साथ मनाउन तयारी जारी रहेको विद्यालयले जनाएको छ ।