कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह गरेका छन् । आज बिहान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारमा कृषकले गरेको सामूहिक प्याजखेतीको अवलोकन गर्ने क्रममा मन्त्री अधिकारीले सो आग्रह गरेका हुन् ।
केही कृषकहरूमा धेरै आम्दानी होस्, एकै पटक आम्दानी होस् र यही वर्ष आम्दानी होस् भन्ने आसमा आवश्यकताभन्दा धेरै विषादी प्रयोग गर्दा धेरै समस्या सृजना हुने गरेको मन्त्री अधिकारीले बताए । विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले अभियान नै सञ्चालन गर्ने मनस्थितिमा रहेको मन्त्री अधिकारीले जानकारी दिए ।
कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताए । कृषकले केही आम्दानी हुने आसमा गरेको खेतीबाट नाफा नै हुन्छ भन्ने नरहेकाले घाटामा जाँदा सरकारले हेर्छ है भन्ने विश्वास दिलाउन लागिपरेको उनको दाबी छ ।