डियरवाक लर्निङ सेन्टरले निशुल्क अनलाइन कक्षाहरु उपलब्ध गराउने एपको शुभारम्भ गरेको छ । डियरवाक लर्निङ सेन्टरले डियरवाक कम्प्लेक्स्स् सिफलमा रहेको सगरमाथा हलमा आयोजित एक समारोहबिच ३५०० भन्दा बढी निशुल्क अनलाइन कक्षाहरू उपलब्ध रहेको DLC APP को शुभारम्भ गरेको हो ।
उक्त एपमा विगत लामो समयदेखि DLC ले आफ्नो वेबसाइट dlc.dwit.edu.np मार्फत् निशुल्क रूपमा उपलब्ध गराउँदै आएको कक्षा ४ देखि ११ सम्मका नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा सामाजिक विषयका ३५०० भन्दा बढी अनलाइन कक्षाहरू उपलब्ध रहेका छन् ।
काठमाडौँको सिफलमा अवस्थित डियरवाक ग्रुप लिमिटेडद्वारा सञ्चालित डियरवाक लर्निङ सेन्टरले दक्ष शिक्षकको अभाव भएका विद्यालयहरूमा अध्ययनरत र गुणस्तरीय शिक्षाबाट बञ्चित सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूमाझ निशुल्क गुणस्तरीय शिक्षा पुर्याउने उद्देश्यले पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरद्वारा निर्मित पाठ्यक्रममा आधारित रहेर निर्माण गरेका फ्लिप्ड कक्षाहरूलाई कक्षागत, विषयगत तथा पाठगत रूपमा सङ्गठित गरी विद्यार्थी तथा शिक्षकहरूका लागि सहज र सरल रूपमा खोज्न तथा सिक्न सहज होस् भन्ने हेतुले उक्त एपको शुभारम्भ गरेको बताईएको छ ।
डिएलसी एप शुभारम्भ समारोहमा बोल्दै डियरवाक ग्रुप लिमिटेडका अध्यक्ष हितेश कार्कीले हालसम्म निर्मित भिडियो कक्षाहरूबाट कक्षा ४ देखि ११ सम्म अध्ययन अध्यापन गर्ने ५० लाखभन्दा बढी विद्यार्थी तथा शिक्षकहरू लाभान्वित भइसकेको जानकारी दिँदै आगामी दिनमा कक्षा १२ तथा स्नातक तहका भिडियो पनि निर्माण गरी निशुल्क वितरण गरिने हुँदा अझ बढी विद्यार्थी तथा शिक्षकहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
एडुटेक नेपालका प्रमुख कार्यकारी अधिकृत अशोक डल्लीले एडुटेक नेपालले हालसम्म कम्प्युटर ल्याब निर्माण गरेर हस्तान्तरण गरेका ३०० बढी सामुदायिक विद्यालयका २ लाख बढी विद्यार्थी तथा शिक्षकहरूले उक्त भिडियो कक्षाहरूबाट लाभ उठाइरहेको जानकारी दिनुभयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि खैरेनी माध्यमिक विद्यालय शुक्लागण्डकी, तनहुँका पूर्व प्रधानाध्यापक केशवराज घिमिरेले एप अनावरणपश्चात् बोल्ने क्रममा कोरोना महामारीको समयमा फ्लिप्ड क्लासले विद्यार्थीहरूको पठनपाठनमा पुर्याएको योगदानको सराहना गर्दै हालसम्म आफूले स्वतस्फूर्त रूपमा देश तथा विदेशका सयौँ पालिका, प्रधानाध्यापक तथा शिक्षकहरूलाई फ्लिप्ड क्लास प्रयोगसम्बन्धी तालिम प्रदान गरेको र सोबाट लाखौँ विद्यार्थी लाभान्वित भएको बताउनुभएको छ ।
उक्त एप शुभारम्भपश्चात् आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूद्वारा सोधिएका प्रश्नहरूको जवाफ डियरवाक धादिङ स्कुलका प्रिन्सिपल निर्मलकुमार पौडेल, फ्लिप्ड क्लास रेकर्डिङ संयोजक युक्ता वर्मा तथा डियरवाक लर्निङ सेन्टरकी कन्टेन्ट आर्किटेक्ट आसरा श्रेष्ठले दिनुभएको थियो ।
देशका विभिन्न स्थानमा हाल ३ ओटा विद्यालय, एउटा कलेज, एउटा ट्रेनिङ सेन्टर सञ्चालन गरेर उच्च गुणस्तरीय शिक्षा प्रदान गरिरहेको डियरवाक ग्रुप लिमिटेडद्वारा सञ्चालित डियरवाक लर्निङ सेन्टरले विगत दस वर्षदेखि ‘फ्लिप्ड क्लास’ भिडियो निर्माण गरेर देश तथा विदेशका सामुदायिक तथा संस्थागत विद्यालय, विद्यार्थी तथा शिक्षकहरूलाई निशुल्क उपलब्ध गराउँदै आइरहेको अवस्थामा हाल शुभारम्भ गरिएको एपले निशुल्क गुणस्तरीय शिक्षालाई अझ व्यवस्थित, सहज र सर्वसुलभ बनाउने कुरामा महत्वपुर्ण भुमिका खेल्ने सरोकारवालाहरुको भनाई छ ।