धादिङ । बागमती प्रदेशले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा धादिङको गल्छी–६, बैरेनीमा रहेको सक्सेस एकेडेमीले दोस्रो स्थान हासिल गर्न सफल भएको छ।
साउन ३० गते नुवाकोटको बट्टारमा सम्पन्न उक्त प्रतियोगितामा बागमती प्रदेशका सबै जिल्लाका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रतिस्पर्धा गर्दै सक्सेस एकेडेमीकी छात्रा सुचना अधिकारीले दोस्रो स्थान प्राप्त गरेको विद्यालयका प्रिन्सिपल जगत प्रसाद रिजालले जानकारी दिनुभयो।
प्रतियोगितामा दोस्रो स्थान हासिल गरेबापत अधिकारीले नगद रु.१० हजार र मेडल प्राप्त गर्नुभएको छ भने विद्यालयले दोस्रो स्थानको ट्रफी समेत हात पारेको छ।
यस उपलब्धिले विद्यालय र सम्पूर्ण धादिङ जिल्लाको प्रतिष्ठा उच्च बनाएको भन्दै प्रिन्सिपल रिजालले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो।