शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जाडोमा बालबालिकालाई यसरी जोगाऔँ

जाडोमा बालबालिकालाई यसरी जोगाऔँ

नागरिक पाटी

२९, कार्तिक २०८२
  • 3.6K
    SHARES
  • जाडोमा बालबालिकालाई यसरी जोगाऔँ

    जाडोयाम सुरु भएसँगै देशभर वर्षात्सँगै पहाडी, हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । काठमाडौँ उपत्यकासँगै देशभर चिसो बढिरहेको छ । चिसोले सबै उमेर समूहलाई प्रभावित पार्छ । तर, नवजात शिशुसँगै बालबालिकालाई कसरी चिसोबाट जोगाउने भन्ने बारेमा अभिभावक चिन्तित हुन थाल्छन् । किनभने ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।

    images
    images

    चिसो याममा कीटाणुहरू बढी सक्रिय हुने इशान बाल तथा महिला अस्पतालका निर्देशक वरिष्ठ बालरोग विषेशज्ञ प्राडा रामनन्दन प्रसाद चौधरी (आरपी) को भनाइ छ ।

    बच्चालाई चिसो नलागोस् भनेर बाक्लो लुगा लगाइदिने, न्यानो कपडाले बेर्ने चलन छ । तर यसले बच्चाको शरीरमा पसिना आएर गुम्सिदा झन् चिसो लाग्न सक्छ । यसमा ख्याल गर्नुपर्छ । जाडोमा बच्चालाई ख्याल गर्न नसके निमोनिया, रुघाखोकी चाँडै च्याप्न सक्ने प्राडा। चौधरी बताउँछन् ।

    यसबाहेक चिसो मौसममा बालबालिकालाई मुख्यतः श्वासप्रश्वासको समस्या, ज्वरो आउने, घाँटी दुख्ने, नाक बन्द हुने, घाँटी घ्यार घ्यार हुने समस्या हुन्छ ।

    चिसो फोक्सोसम्म पुगेपछि ब्रोनकाइटिक्स, निमोनिया हुन सक्छ । त्यस्तै आँखा पाक्ने, आँखा सुख्खा हुने, छाला सुख्खा हुने, लुतो पनि आउने हुन्छ ।

    चिसो मौसममा बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि वा नदेखिँदै उपचार विधि भनेकै उनीहरूलाई न्यानो बताएर राख्नु हो । जाडोमा प्रायः बालबालिकालाई भाइरल ज्वरो आउने गर्छ । त्यस्तो अवस्थामा प्रशस्त झोलिलो खानेकुरा खुवाउनु पर्छ । बच्चालाई ज्वरो आयो भन्दैमा जथाभाबी एन्टिबायोटिक औषधि खुवाउन हुँदैन ।

    न्यानोपन जरुरी

    जाडोमा हुने विभिन्न समस्याबाट जोगिन वरिष्ठ बालरोग विषेशज्ञ डा। चौधरी बुँदागत रूपमा यस्तो सुझाव दिन्छन् ।

    –बच्चालाई सुताइएको कोठाको पुरै झ्याल बन्द गर्नु हुँदैन ।

    —बच्चालाई कपडाको एलर्जी पनि हुन सक्छ । उनीहरूलाई भित्री कपडा ऊनीको नभई सुतीको कपडा लगाइदिनुपर्छ ।

    —जाडोमा छाला सुख्खा हुन्छ । तोरीको तेल तताएर बिहानीको घाममा हल्का रूपमा नियमित मसाज गरेको खण्डमा बच्चाको छालालाई राम्रो हुन्छ ।

    —स्तनपान गर्ने उमेरको बच्चालाई आमाकै दूध ख्वाउनुपर्छ, बोटलको होइन । बालबालिकालाई बोतलबाट अन्य पेय पदार्थ पनि सकेसम्म नखुवाउने ।

    —साना बच्चालाई विस्तारै सन्तुलित तवरबाट ठोस बस्तुहरू खुवाउनुपर्छ ।

    —बच्चालाई शहरी क्षेत्रमा धुलो, धुवाँजस्ता प्रदूषणबाट टाढै राख्नुपर्छ ।

    —बच्चालाई चाउचाउ, कुरमुरे आदि बाहिरको पत्रु खाने कुराबाट टाढै राखेर शुद्ध र स्वास्थ्यवद्र्धक घरमै बनाइएको खानेकुरा खुवाउनुपर्छ ।

    —बच्चासहित हिटरको आगो धेरैबेर ताप्नु हुँदैन ।

    —बच्चालाई न्यानो लुगा लगाइदिँदा शरीरमा पसिना आए नआएको ख्याल राख्ने ।

    —बच्चालाई जाडोमा नियमित नुहाइदिनु हुँदैन । त्यसको सट्टामा मनतातो पानीमा तौलिया भिजाएर उनीहरूको शरीर सफा गरिदिनुपर्छ ।

    —बच्चा एक वर्षभन्दा माथिको भए नियमित रूपमा मौसम अनुसारको फलफूल तथा ताजा जुस ख्वाउनु पर्छ ।

    – मह, अदुवा तातोपानीमा पकाएर खुवाउने, तुलसीको पत्ता मनतातो पानीमा खुवाउँदा पनि बच्चालाई फाइदा गर्छ ।

    — हरियो सागसब्जी, अण्डा माछा, मासुको तातो झोल खुवाउन छुटाउनु हुन्न ।

    बच्चालाई सामान्य खालको ज्वरो आएको छ । तर, खाना राम्रोसँग खाएको छ भने घरैमा न्यानोमा राखेर खानपानमा ध्यान दिएर उपचार गर्न सकिन्छ ।

    —बच्चालाई श्वास फेर्न गाह्रो हुने, धेरै ज्वरो आउने, बान्ता गर्ने र बेहोस हुने, दिसा लागिरहने समस्या भए अस्पताल लानुपर्छ ।

    —कोरोनाभाइरस (कोभिड–१९) को महामारी जारी रहेकाले सकेसम्म साना बालबालिकालाई घर बाहिर निस्कन नदिने ।

    —साना बालबालिकाले लेखपढ गरेपछि हातको सरसफाइमा परिवारले ध्यान दिने ।

    —नवजात शिशु तथा छ महिना माथिका बच्चाहरूले मास्कको प्रयोग नगर्ने भएकाले परिवारले विशेष ख्याल राख्नुपर्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०८२ शनिवार - ०८:३५:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology