शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव हुने

पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव हुने

नागरिक पाटी

७, मंसिर २०८२
  • 2.5K
    SHARES
  • पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव हुने

    पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाई समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुनेछ । ‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको र तयारी अन्तिम चरणमा पुगेको महोत्सव संयोजक एवं इकाई सभापति घनश्याम उपाध्यायले आज बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    images
    images

    बन्दीपुर नेपालकै पर्यटकीय गन्तव्य स्थल रहेकाले यसको थप प्रवर्द्धनमा महोत्सवले सहयोग पुग्ने उनले बताए । यहाँ अवस्थित ऐतिहासिक सम्पदाहरू एवं प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलको पहिचान, प्रचारप्रसार गरी बन्दीपुरको आर्थिक उन्नतिमा टेवा पुर्याउने लक्ष्य राखिएको उनको भनाइ छ ।

    महोत्सव दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको र रु पाँच करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको उनले बताए । महोत्सवका क्रममा धार्मिक तथा ऐतिहासिक स्थल खड्गदेवी मन्दिर, पहाड पानी महादेव, विन्ध्यवासिनी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, चामुण्डामाई भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुन्द सेन दरबार तथा मार्ग, टुँडिखेल, रानीवनको भ्रमण गराइने उनले बताए ।

    महोत्सवका क्रममा साहसिक पर्यटन खेलहरू चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा, साइक्लिङको मज्जा लिन सकिने उनको भनाइ छ । महोत्सवमा व्यापारिक सामग्रीका ७९, विभिन्न घरेलु तथा हस्तकलाका तीन, कृषि उपजका दश, सेवामूलक संस्थाको एक, होटल रेस्टुरेन्टका आठ, सूचना केन्द्र एक, अटो कम्पनीका दुईलगायत स्टल रहनेछन् ।

    बन्दीपुर गाउँपालिका संरक्षक रहेको महोत्सवको प्रवर्द्धकमा तनहुँ उद्योग वाणिज्य सङ्घ, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय रहेको छ ।

    महोत्सवले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । भ्रमण वर्षका अवसरमा विविध कार्यक्रम गर्ने निर्णयबमोजिम महोत्सव गर्न लागिएको उनको भनाइ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०८२ आइतवार - ०७:४४:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology