धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले थाक्रे गाउँपालिका वडा नम्बर २, ३ र ६ मा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। वडा कमिटीको आयोजनामा सम्पन्न भेलाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको जनाएको छ।

भेलामा धादिङ क्षेत्र नम्बर १ मा पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा बोल्दै उम्मेदवार पाण्डेले जनताको विश्वास र समर्थनकै आधारमा आफू निर्वाचनमा होमिएको बताउँदै समृद्ध धादिङ निर्माण आफ्नो मुख्य एजेण्डा रहेको उल्लेख गर्नुभयो।

उहाँले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारी सिर्जना तथा कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “हामी जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या, सुझाव र अपेक्षा सुन्दै अघि बढ्छौं,” पाण्डेको भनाइ उद्धृत गर्दै नेकपा थाक्रेले जनाएको छ।
कार्यक्रममा सहभागी नेताहरूले संगठनलाई थप सुदृढ बनाउँदै घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादलाई तीव्रता दिने निर्णय गरिएको बताएका छन्। भेलाले पार्टीका विचार, नीति तथा एजेण्डालाई प्रभावकारी रूपमा जनतामाझ लैजाने र निर्वाचनमा उत्साहजनक परिणाम हासिल गर्ने संकल्पसमेत व्यक्त गरेको छ।