आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रसुवाको विकास एजेन्डामा उम्मेदवारहरूको प्रतिबद्धता, रेडियो संवादमा साझा धारणा

रसुवाको विकास एजेन्डामा उम्मेदवारहरूको प्रतिबद्धता, रेडियो संवादमा साझा धारणा

शिवराज आचार्य

१, फाल्गुण २०८२
  • 2.0K
    SHARES
  • रसुवाको विकास एजेन्डामा उम्मेदवारहरूको प्रतिबद्धता, रेडियो संवादमा साझा धारणा

    रसुवा जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरू मतदाताबीच होमिएका छन्। विद्युत् विकास, स्थानीय बासिन्दालाई शेयर सुनिश्चितता, भूकम्प जोखिम न्यूनीकरण, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना, सडक तथा सिँचाइ विस्तार, सुरक्षित खानेपानी तथा पूर्वाधार सुदृढीकरणलाई मुख्य एजेन्डा बनाएको उनीहरूले बताएका छन्।

    images

    627899484_2099687390817792_8880376409763234794_n.jpg

    रेडियो लाङटाङको १२औँ स्थापना दिवस तथा विश्व रेडियो दिवस २०२६ का अवसरमा रसुवाको कालिका गाउँपालिका–२, स्याउवारीमा आयोजित रेडियो संवाद कार्यक्रममा सहभागी उम्मेदवारहरूले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिताको पूर्ण पालना गर्दै शान्तिपूर्ण रूपमा मत माग्ने प्रतिबद्धता जनाएका हुन्।

    अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरूले रसुवाको आवश्यकता र विकासका सम्भावनाबारे आफ्ना धारणा राखेका थिए। अधिकांश उम्मेदवारले जलविद्युत् विकासलाई उच्च प्राथमिकता दिने बताएका छन्। विद्युत् आयोजनामा स्थानीयवासीको लगानी तथा शेयर सुनिश्चितता, रोजगारीका अवसर सिर्जना, आयोजनाबाट प्रभावित क्षेत्रका लागि उचित क्षतिपूर्ति र पुनःस्थापनाको विषयलाई विशेष जोड दिइएको थियो।

    त्यस्तै, भूकम्प प्रतिरोधी पूर्वाधार निर्माण, पुराना संरचनाको प्राविधिक परीक्षण, प्रभावकारी आपतकालीन उद्धार योजना कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। निःशुल्क तथा गुणस्तरीय शिक्षा, सडक र सिँचाइ पूर्वाधार विस्तार, सुरक्षित खानेपानी आपूर्ति तथा समग्र भौतिक पूर्वाधार सुदृढीकरणलाई पनि प्राथमिकतामा राखिएको उम्मेदवारहरूले बताएका छन्।

    रसुवा जिल्लाबाट उठेका १२ उम्मेदवारमध्ये समीर लामिछाने (नेकपा), बिनोद थिङ (मंगोल अर्गनाइजेसन), मानबहादुर तामाङ (उज्यालो नेपाल), होमप्रसाद आचार्य (नेकपा माओवादी–विप्लव समूह) तथा स्वतन्त्र उम्मेदवार चित्रकुमारी देवकोटा कार्यक्रममा सहभागी भएका थिए।

    कार्यक्रमका अवसरमा रेडियोका सचिव गीता न्यौपानेले रेडियो लाङटाङ केवल प्रसारण केन्द्र मात्र नभई समुदायको आवाज, सूचना सेतु तथा सामाजिक रूपान्तरणको माध्यमका रूपमा स्थापित भएको बताउनुभयो। दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्दै समुदाय सशक्तीकरणमा रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो।

     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०८२ शुक्रवार - २१:४७:३७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology