मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकैको सडकमा फ्लड लाइट जडान गरिएको छ । सडकमा माथिबाट कुनै पनि समयमा ढुंगा खस्न सक्ने सम्भावना भएकाले रातको समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्ने गरी दुईवटा फ्लड लाइट जडान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
उक्त सडकखण्डमा सवारी ओभरटेक नगरी संयमित भई सुरक्षित यात्रा गर्न डिभिजन कार्यालयले आग्रह गरेको छ । उक्त सडकखण्डमा पानी परेको समयमा सडकमाथिबाट ढुंगा र पहिरो खस्दा पटक–पटक सवारी अवरुद्ध हुँदै आएको छ ।
ठूलो पहिरो नगएको र पानी नपरेको समयमा समेत माथिबाट ढुंगा खस्ने गरेकाले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।