शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

गल्छी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

आशिष ठकुरी

७, जेठ २०८३
  • 4.7K
    SHARES
  • गल्छी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    बैरेनी । गल्छी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रमाणीकरण घोषणा गरेको छ । गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको हो । 

    images
    images

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख भोजराज रेग्मीले नेपालमा राष्ट्रिय खोपको विकासक्रम, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना, यसको लक्ष्य, उदेश्य तथा रणनिती लगायत घोषणाका आधारहरु, घरधुरी सर्वेक्षणको नतिजा लगायतको बारेमा सहभागिलाई जानकारी गराउनभएको छ ।

    गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारी र जनस्वास्थ्य कार्यालय धादिङका कार्यालय प्रमुख अर्जुन पौडेलको विशेष आतित्थ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल, पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीसहित विभिन्न वडाका अध्यक्ष तथा सरोकारवालाहरूको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी नवराज अधिकारीले पूर्ण खोप अभियान बालबालिकाको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई निरन्तर प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको सक्रियता र समुदायको सहभागिताले स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव भएको धारणा राख्नुभयो ।
    कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले गल्छी गाउँपालिकाले खोप सुनिश्चिततालाई प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गरिने बताउनुभयो ।

    यस्तै गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारीले पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अभियानलाई दिगो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

    जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले समयमै खोप लगाउनु बालबालिकाको भविष्य सुरक्षित गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै नियमित खोप सेवामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

    त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै पूर्ण खोप सुनिश्चितता अभियानलाई अझ प्रभावकारी र दिगो बनाउन प्रशासनिक तथा संस्थागत सहयोग निरन्तर रहने बताउनुभयो । गल्छी गाउँपालिकाले आगामी दिनमा पनि खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै दिगोपनामा जोड दिने जनाएको छ । यस्तै कार्यक्रममा सबै वडाका स्वास्थ्य संस्थालाई पनि सम्मान गरिएको छ । 

    जिल्लामा यसअघि निलकण्ठ नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा भईसकेको छ । पुर्ण खोप सुनिश्चितता घोषणामा यो आर्थिक वर्षमा गल्छी गाउँपालिका जिल्लामै दोस्रो बनेको छ ।

    फोटोका लागि तलको लिँक खोल्नुहोस्

    https://www.facebook.com/share/p/17zQUB6HGe/

    https://www.facebook.com/share/p/1CrLRcGh5c/

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ७, २०८३ बिहिवार - २०:०६:२८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology