शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गंगाजमुनामा जलवायु कृषकको क्षमता अभिवृद्धि तालिम सञ्चालन

गंगाजमुनामा जलवायु कृषकको क्षमता अभिवृद्धि तालिम सञ्चालन

नागरिक पाटी

२६, जेठ २०८३
  • 1.4K
    SHARES
  • गंगाजमुनामा जलवायु कृषकको क्षमता अभिवृद्धि तालिम सञ्चालन

    धादिङ । गंगाजमुना गाउँपालिकामा जलवायु कृषक पाठशाला सञ्चालनमा संलग्न सहजकर्ता तथा अगुवा कृषकहरूको दुई दिने क्षमता अभिवृद्धि, अनुभव आदान–प्रदान तथा योजना तर्जुमा तालिम सम्पन्न भएको छ।

    images
    images

    तालिमको उद्घाटन गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडा, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, आड्रा नेपालका कार्यक्रम अधिकृत माधवजंग महत, वडा अध्यक्ष कुमारबहादुर अधिकारी तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा गरिएको थियो।

    WhatsApp Image 2026-06-09 at 1.51.04 PM.jpeg

    गंगाजमुना गाउँपालिकाकी लैङ्गिक सहायक शर्मिला गुरुङका अनुसार तालिममा २३ जना कृषकसहित विभिन्न सरोकारवाला गरी ३० जनाको सहभागिता रहेको थियो। उहाँले तालिमले जलवायु कृषक पाठशाला सञ्चालनलाई अझ प्रभावकारी, सहभागितामूलक र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    तालिमको पहिलो दिन गत वर्ष सञ्चालन गरिएका जलवायु कृषक पाठशालाहरूको समीक्षा, सिकाइ, उपलब्धि तथा अनुभव आदान–प्रदान गरिएको थियो। सहभागीहरूले विभिन्न बालीमा सञ्चालन भएका पाठशालाका सफल अभ्यास, चुनौती तथा सिकाइका विषयमा समूहगत छलफल र प्रस्तुति गरेका थिए। कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा समाधानका उपायबारे समेत विस्तृत छलफल गरिएको थियो।

    त्यसैगरी, जलवायु कृषक पाठशाला निर्देशिकामा समेटिएका विषयवस्तु, उद्देश्य, प्रयोग विधि तथा व्यवहारिक पक्षबारे प्राविधिक सत्र सञ्चालन गरिएको थियो। सहभागीहरूले निर्देशिकाको प्रभावकारी प्रयोगबाट कृषक समूहहरूमा सिकाइ प्रक्रिया थप सुदृढ हुने धारणा व्यक्त गरेका थिए।

    गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिक गोकर्ण अधिकारीले जलवायु उत्थानशील कृषि अभ्यास, माटो स्वास्थ्य व्यवस्थापन, जल व्यवस्थापन, तरकारी तथा बाली उत्पादन प्रविधि, कीरा तथा रोग व्यवस्थापन लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो। साथै स्थानीय सरकार र सेवा प्रदायक निकायहरूसँग समन्वय तथा सेवा पहुँच सुदृढीकरणका उपायबारे पनि छलफल गरिएको थियो।

    प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रभावकारी सहजीकरण सीप, वयस्क सिकाइ पद्धति तथा अगुवा कृषकहरूको भूमिका र जिम्मेवारी सम्बन्धी सत्र सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा जलवायु कृषक पाठशालाका असल अभ्यास, सफलताका कथाहरू, सिकाइ तथा अभिलेख व्यवस्थापन सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो।

    WhatsApp Image 2026-06-09 at 1.51.05 PM.jpeg

    तालिमको अन्तिम सत्रमा आगामी दिनमा जलवायु कृषक पाठशाला सञ्चालनका लागि कार्ययोजना तयार गरी अन्तिम रूप दिइएको थियो। सहभागीहरूले प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समुदायस्तरमा जलवायु उत्थानशील कृषि अभ्यास प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    समापन कार्यक्रममा वक्ताहरूले स्थानीय सरकार, समुदाय, अगुवा कृषक तथा विकास साझेदार संस्थाबीचको सहकार्यबाट कृषि उत्पादन वृद्धि, जीविकोपार्जन सुधार तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे।

    उक्त कार्यक्रम "उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना" अन्तर्गत प्रयास नेपाल र आड्रा नेपालको साझेदारीमा सञ्चालन गरिएको हो। परियोजनाले गंगाजमुना गाउँपालिकामा जलवायु परिवर्तनबाट प्रभावित समुदायहरूको खाद्य सुरक्षा, जीविकोपार्जन तथा उत्थानशील क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०८३ मंगलवार - २०:३९:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology