नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा धादिङको धुनिवेशी नगरपालिकामा विशेष वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। धुनिवेशी नगरपालिका, ‘लभ ग्रिन नेपाल’ र बनदेवी सामुदायिक बन उपभोक्ता समितीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जापानी राजदूत माएदा तोर नेतृत्वको जापानी प्रतिनिधिमण्डल, नेपालस्थित जापानी दूतावासका अधिकारी, स्थानीय जनप्रतिनिधि तथा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत बनदेवी सामुदायिक वन क्षेत्रमा पैयुँका बिरुवा रोपेर नेपाल–जापान मित्रताको प्रतीकात्मक सन्देश दिइएको थियो। जापानी राजदूत माएदा तोरले पनि वृक्षारोपणमा सहभागी भई दुई देशबीचको सम्बन्धलाई वातावरण संरक्षणसँग जोड्ने प्रयासको प्रशंसा गर्नुभयो।
वृक्षारोपणपछि धुनिवेशी नगरपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यले जापानी राजदूत तोरसहितको प्रतिनिधिमण्डललाई स्वागत गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा नगरप्रमुख आचार्यले धुनिवेशी नगरपालिकाको कृषि, शिक्षा तथा फोहोर व्यवस्थापनका क्षेत्रमा जापान सरकारसँग सहकार्य र सहयोगको अपेक्षा रहेको बताउनुभयो। उहाँले प्रविधि, सीप र अनुभव आदानप्रदानमार्फत स्थानीय विकासलाई नयाँ उचाइमा पुर्याउन सकिने धारणा राख्नुभयो
कार्यक्रममा बोल्दै जापानी राजदूत माएदा तोरले फोहोर व्यवस्थापन नेपालमा मात्र नभई जापानका लागि पनि चुनौतीपूर्ण विषय रहेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि श्रोतमै फोहोरको वर्गीकरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले घर–घरबाट नै फोहोर छुट्याउने संस्कृतिको विकास भए व्यवस्थापन धेरै प्रभावकारी हुने बताउनुभयो।
राजदूत तोरले हाल सञ्चालनमा आएको नागढुङ्गा सुरुङमार्ग धुनिवेशी नगरपालिकाका लागि ठूलो अवसर भएको उल्लेख गर्दै त्यसको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो। सुरुङमार्गले कृषि उत्पादनलाई छिटो र सहज रूपमा बजारसम्म पुर्याउन सहयोग गर्ने भएकाले स्थानीय किसानले प्रत्यक्ष लाभ लिन सक्ने उहाँको भनाइ थियो।
नगरप्रमुख आचार्यले धुनिवेशी नगरपालिका र जापानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन नागढुङ्गा सुरुङमार्ग, एम्बुलेन्स सहयोग तथा पैयुँ वृक्षारोपण जस्ता पहलहरूले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। आगामी दिनमा पनि विकास, वातावरण संरक्षण र स्थानीय समृद्धिका क्षेत्रमा जापानसँग सहकार्य अझ विस्तार गर्ने नगरपालिकाको चाहना रहेको उहाँले स्पष्ट पार्नुभयो।
अन्तरक्रिया कार्यक्रममा जापानी विज्ञ डा. युकी इटोले “नेपाल–जापान सम्बन्धमा पैयुँ र साकुराको सान्दर्भिकता” विषयमा प्रस्तुति दिँदै यी दुई फूलले दुई देशबीचको मित्रता, संस्कृति र प्रकृतिप्रतिको सम्मानलाई झल्काउने बताउनुभयो। कार्यक्रममा प्यारा हरियो नेपालका अध्यक्ष अमिरा देली, धुनिवेशी नगरपालिकाका उपप्रमुख सुरज उप्रेती, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागीहरूले नेपाल–जापानबीच सात दशकदेखि कायम रहेको मैत्री सम्बन्धलाई वातावरण संरक्षण, हरित विकास, कृषि आधुनिकीकरण, शिक्षा र स्थानीय साझेदारीमार्फत अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।