धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी नीतिगत तथा कार्यक्रमगत कार्यशाला सम्पन्न भएको छ।
प्रयास नेपाल धादिङ र चाइल्ड फण्ड जापानको सहयोगमा आयोजित कार्यशालामा विद्यालय तथा स्थानीय तहमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, सुरक्षित सिकाइ वातावरण निर्माण तथा विपद्को प्रभावकारी व्यवस्थापनका विषयमा छलफल गरिएको हो।
कार्यशालामा विद्यालयलाई सुरक्षित तथा विपद् प्रतिरोधी बनाउन आवश्यक रणनीति, नीति तथा कार्ययोजना निर्माणका विषयमा सहभागीहरूले अनुभव आदानप्रदान गरेका थिए। साथै विद्यालय र स्थानीय तहबीच समन्वय गर्दै विपद्का सम्भावित जोखिम पहिचान, पूर्वतयारी तथा न्यूनीकरणका उपायलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यशालामा सहजकर्ता कृष्णप्रसाद घिमिरेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विभिन्न पक्ष, विद्यालयमा विपद् पूर्वतयारी तथा सुरक्षित सिकाइ वातावरण निर्माणलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक), उपाध्यक्ष टापबहादुर श्रेष्ठ, वडा अध्यक्षहरू राजकुमार श्रेष्ठ र टेकनाथ सिल्वाल, शिक्षा शाखा प्रमुख सन्तोष पौडेल, स्वास्थ्य शाखा प्रमुख रमेश अर्याललगायत विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यस्तै प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, चाइल्ड फण्ड जापानका एरिया म्यानेजर कविराम बाठामगर, परियोजना प्रबन्धक सन्तोष सत्याल तथा परियोजना क्षेत्रका १९ वटा विद्यालयका प्रधानाध्यापकहरूको समेत कार्यशालामा सहभागिता रहेको थियो।
कार्यशालाले विद्यालय तहबाटै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक नीति, कार्यक्रम र कार्ययोजना निर्माण तथा कार्यान्वयनमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।