केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो। ती दुधमुखे बालिका कति रोइन् होला ! पीडाले कति चिच्याइन् होला ! घटना सम्झिँदा मात्रै पनि मन भक्कानिन्छ , मुटु काँप्छ। यस्तो घटना सुन्न त के कल्पना गर्न समेत आँट आउँदैन।
लगत्तै अर्को समाचार पनि आयो , २१ वर्षको नाती उमेरको एक युवकले ६१ वर्षकी हजुरआमा उमेरकी महिलालाई बलात्कार गरेछ।
केहिदिन अन्तरालमा भएका यी घटना खासमा समाचार मात्रै होइनन्। हाम्रै समाजको डरलाग्दो ऐना हुन्।
विगत सात वर्षमा नेपाल प्रहरीमा १६,४३३ वटा बलात्कारका मुद्दा दर्ता भएका रहेछन्। त्यही अवधिमा ४,३०० भन्दा बढी बलात्कार प्रयासका घटना दर्ता भएका छन्। सोही अवधिमा घरेलु हिंसाका करिब १ लाख ८ हजार घटना प्रहरीमा दर्ता भएका रहेछन्। औसत निकाल्दा एक दिनमा ६ वटाभन्दा बढी बलात्कारका मुद्दा प्रहरीमा दर्ता भएको देखिन्छ।
यो अवस्था सामान्य होइन। यो अत्यन्तै गम्भीर र डरलाग्दो सामाजिक संकट हो। यही कारण समाजका विभिन्न तहबाट अब कानुन संशोधन गरेर भए पनि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने आवाज उठिरहेको छ। कतिपयले बलात्कारीको लिंग छेदन गर्नुपर्छ भन्ने मागसमेत गरिरहेका छन्।
कानुन कति कठोर बनाउने भन्ने बहस आफ्नो ठाउँमा छ। तर त्यससँगै एउटा गम्भीर प्रश्न छ की , खासमा बलात्कारी को हुन् ? अनि ती कहाँ बस्छन् ? यसको उत्तर खोज्न धेरै जटिल छैन। किनभने बलात्कारी कुनै जङ्गलबाट आएको बाघ वा भालु होइन।
हामी बाँचेको हाम्रै समाजको सदस्य कसरी बलात्कारी भयो त ? अपराधी निर्माण हुने प्रक्रिया कहाँबाट सुरु भयो भनेर पनि समाजले खोज्नुपर्छ। हरेक घर परिवारले खोज्नुपर्छ ।
आफ्नै भाई छोराहरु आखिर बलात्कारी कसरी बने ? किन बने ?
के उनीहरू जन्मिँदै बलात्कारी भएर जन्मिएका थिए ? पक्कै होइन।
त्यसो भए एउटा सामान्य मानिस अपराधी बन्ने बाटो कहाँबाट सुरु भयो ?
बलात्कारी हाम्रै समाजको मानिस हो। ऊ हाम्रै घरमा हुन सक्छ। हाम्रै छिमेकी हुन सक्छ। हाम्रै टोलमा बसिरहेको हुन सक्छ। हाम्रै आफन्त, चिनजानको व्यक्ति वा विश्वास गरेको मान्छे हुन सक्छ। कतिपय अवस्थामा त आफ्नै घरभित्रैबाट यस्तो अपराध भइरहेको हुनसक्छ ।
हामी बलात्कारीलाई टाढाको कुनै डरलाग्दो अपरिचित मानिसका रूपमा कल्पना गर्छौं। तर वास्तविकता त्योभन्दा फरक छ । बलात्कारी बाहिर होइन, समाजकै बीचमा हुन्छ। हाम्रै घरघरमै छ ।
प्रश्न अझ पेचिलो छ । हामी बाँचेको हाम्रै समाजको सदस्य कसरी बलात्कारी भयो त ? अपराधी निर्माण हुने प्रक्रिया कहाँबाट सुरु भयो भनेर पनि समाजले खोज्नुपर्छ। हरेक घर परिवारले खोज्नुपर्छ ।
आफ्नै भाई छोराहरु आखिर बलात्कारी कसरी बने ? किन बने ?
के उनीहरू जन्मिँदै बलात्कारी भएर जन्मिएका थिए ? पक्कै होइन।
त्यसो भए एउटा सामान्य मानिस अपराधी बन्ने त्यो बाटो कहाँबाट सुरु भयो ?
यसको सम्पूर्ण जिम्मेवारी एउटै व्यक्ति माथी मात्रै थोपर्न सकिँदैन। अपराध गर्ने अन्तिम जिम्मेवारी अपराधीकै हो। तर उसलाई हुर्काउने परिवार, उसको सामाजिक वातावरण, उसका सम्बन्ध, संगत र उसले पाएको संस्कार तथा चेतनाको भूमिकामाथि पनि गम्भीर बहस गर्नुपर्ने हुन्छ।
सम्भवतः त्यहाँ हामी सबैको केही न केही जिम्मेवारी जोडिएको हुन सक्छ। उसलाई जन्माउने बाबुआमा, उसले पाएको पारिवारिक संस्कार, ऊ हुर्केको वातावरण, उसको संगत, नाता आफन्त यी सबैले उसको व्यक्तित्व निर्माणमा भूमिका खेलेका हुन्छन्।
त्यसैले प्रश्न अपराध भएपछि मात्रै उठाउने होइन। प्रश्न त त्यसअघि नै उठाउनुपर्ने हो।
के कुनै बाबुआमाले आफ्नो छोराको चालचलनबारे कहिल्यै गम्भीर भएर सोधखोज गरेका छन् ? उसको आनीबानी र आचरणबारे टोल–छिमेकमा कहिल्यै बुझ्ने प्रयास गरेका छन् ?
उसका साथीहरू कस्ता छन् भनेर कहिल्यै चासो दिएका छन् ? उसको व्यवहारमा कुनै असामान्य परिवर्तन देखियो कि भनेर कहिल्यै ध्यान दिएका छन् ?
उसले केटी साथी वा कुनै महिलासँग कस्तो व्यवहार गर्छ भनेर कहिल्यै सोचेका छन् ?
‘केटीलाई जिस्क्याउनु हुँदैन, महिलालाई दुर्व्यवहार गर्नु हुँदैन, कसैको शरीर र इच्छामाथि जबर्जस्ती गर्न पाइँदैन’ भनेर आफ्नै छोरालाई कहिल्यै स्पष्ट रूपमा सम्झाएका छन् ?
हामी छोरालाई पढाइका बारेमा सोध्छौँ। कति नम्बर आयो भनेर सोध्छौँ। कुन कलेज पढ्ने, कुन जागिर खाने, कति कमाउने भनेर सोध्छौँ।
तर उसले कस्तो मानिस बन्दैछ ? उसको चरित्र कस्तो छ ?
उसले अरूलाई कसरी व्यवहार गर्छ ? कमजोर व्यक्तिप्रति उसको व्यवहार कस्तो छ ? केटी र महिलाप्रतिको उसको दृष्टिकोण कस्तो छ ?
यी प्रश्नहरूचाहिँ कति अभिभावकले सोध्छौँ ?
हामीले छोरालाई सफल हुन सिकायौँ होला, तर असल मानिस बन्न कति सिकायौँ ?
हामीले उसलाई प्रतिस्पर्धा गर्न सिकायौँ होला, तर अस्वीकारलाई सम्मानपूर्वक स्वीकार गर्न सिकायौँ कि सिकाएनौँ ?
हामीले अधिकारका कुरा सिकायौँ होला, तर अरूको अधिकार र सीमाको सम्मान गर्न सिकायौँ कि सिकाएनौँ ?
यहीँबाट परिवारको भूमिका सुरु हुन्छ।
अपराध गर्ने व्यक्तिलाई अपराधको पूर्ण जिम्मेवारीबाट उन्मुक्ति दिन खोजिएको होइन। अन्ततः अपराधको जिम्मेवारी अपराधीले नै लिनुपर्छ। तर अपराध रोकथामका लागि समाजले आफूलाई पनि ऐनामा हेर्नैपर्छ।
छोरालाई जन्म दिनु मात्र बाबुआमाको जिम्मेवारी होइन । उसलाई असल, जिम्मेवार र संवेदनशील नागरिक बनाउनु पनि जिम्मेवारी हो।
र यो जिम्मेवारी घरबाट सुरु हुन्छ।
किनकि बलात्कारी जेल पुगेपछि समाजले ताली बजाएर मात्र समस्या समाधान हुँदैन।
बलात्कारी जन्मिनुअघि नै उसलाई रोक्न सक्ने संस्कार, शिक्षा, चेतना र निगरानीको व्यवस्था गर्न सकियो भने मात्र समाज सुरक्षित बन्न सक्छ।
त्यसैले बलात्कारविरुद्धको लडाइँ खाली घटना भएपछि अपराधी समात्ने र अदालतबाट सजाय दिलाउने विषय मात्र होइन।
बालबालिकालाई सुरक्षित राख्ने, परिवारभित्र सचेतना बढाउने, विद्यालयमा यौन शिक्षासहित आत्मसुरक्षाको ज्ञान दिने, शंकास्पद व्यवहारलाई समयमै पहिचान गर्ने, पीडितलाई बोल्न सक्ने वातावरण बनाउने र अपराध लुकाउने सामाजिक प्रवृत्तिको अन्त्य गर्ने काम पनि उत्तिकै आवश्यक छ।
सबैभन्दा ठूलो कुरा "हाम्रो मान्छे हो " अथवा 'मेरो छोरा हो' भनेर अपराध ढाकछोप गर्ने, पुलपुल्याउने मानसिकता अन्त्य हुनुपर्छ।
अपराधी आफ्नो मान्छे होस् वा पराइ, आफन्त होस् वा अपरिचित , अपराध भनेको अपराध नै हो।
कानुन कठोर हुनुपर्छ। अपराधीले कडा सजाय पाउनुपर्छ। तर त्यससँगै समाजले आफूभित्र पनि हेर्नुपर्छ।
किनकि प्रश्न ‘बलात्कारीलाई कस्तो सजाय दिने ?’ भन्ने होइन।
त्यसभन्दा पहिले हामीले सोध्नुपर्ने प्रश्न हो , ‘बलात्कारी हाम्रो समाजमा कहाँ छ ?’
सायद उत्तर सुन्न हामीलाई जति गाह्रो लाग्छ, वास्तविकता त्यति नै नजिक छ। बलात्कारी घर–घरमा हुन सक्छन्। त्यसैले सुरक्षा , सुसंस्कार र निगरानी पनि घर–घरबाटै सुरु गर्नुपर्छ।
सम्भावित बलात्कारी तपाइँ हाम्रै घरमै पो छन् की ! आजैदेखी भाई, छोराहरुलाई सचेत गराऔ !