धादिङ । थाक्रे गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले विभिन्न महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। गाउँपालिकाको १५८औँ कार्यपालिका बैठकले विपद्बाट मृत्यु भएका तथा सम्पर्कविहीन व्यक्तिका परिवारदेखि प्रभावित स्थानीय तह र विपद् व्यवस्थापन कोषसम्म सहयोग गर्ने निर्णय गरेको हो।
बैठकले बाढी तथा पहिरोका कारण मृत्यु भएका तथा हालसम्म सम्पर्कविहीन रहेका व्यक्तिका परिवारलाई प्रति व्यक्ति ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
त्यसैगरी राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउन गाउँपालिका अध्यक्षबाट ३० हजार, उपाध्यक्षबाट ३० हजार, वडा अध्यक्षहरूबाट १५–१५ हजार तथा वडा सदस्यहरूबाट ५–५ हजार रुपैयाँका दरले सहयोग संकलन गरी जम्मा ५ लाख १५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराइने निर्णय भएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्य बताउनु भयो।
कार्यपालिकाले बाढी तथा पहिरोबाट अति प्रभावित रसुवाको उत्तरगया गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिका लगायत संकटग्रस्त स्थानीय तहहरूमा आवश्यकता अनुसार अत्यावश्यक राहत सामग्री हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ।
यस्तै, विपद् व्यवस्थापन तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन विपद् व्यवस्थापन तथा राहत कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको गाउँपालिका अध्यक्ष आचार्यको भनाई छ।
गाउँपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा आवश्यक सहयोग निरन्तर जारी राख्ने गाउँपालिकाले जनाएको छ।