धादिङ । धादिङका स्थानीय तह प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठकले हालैको भोटेकोशी–त्रिशूली बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ।
थाक्रे गाउँपालिकाको सभाहलमा सञ्चालन भएको बैठकले बाढी प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि जम्मा ७० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। उक्त रकम संयुक्त रूपमा व्यवस्थापन गरी बढी प्रभावित ४ वटा स्थानीय तहलाई आवश्यकता र क्षतिको आधारमा वितरण गरिने जनाइएको छ।
बैठकले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा, खानेपानी, खाद्यान्न तथा अस्थायी आवास व्यवस्थापनमा स्थानीय तहको नेतृत्वलाई थप सुदृढ गर्ने निर्णय गरेको छ। साथै संघ, प्रदेश सरकार, निजी क्षेत्र, दातृ निकाय तथा नागरिक समाजसँग आवश्यक समन्वय गरी पुनःस्थापनाका काम अघि बढाइने उल्लेख गरिएको छ।
विपद्बाट क्षति पुगेका सडक, पुल, विद्यालय र स्वास्थ्य संस्थालगायतका संरचनाको शीघ्र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय र अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। क्षतिको यथार्थ विवरण संकलन गरी आवश्यक स्रोत व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसमक्ष माग गर्ने निर्णय गरिएको छ।
त्यसै गरी,बैठकले विशेष रूपमा सडक तथा पुल पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै मलेखु–फुर्केखोला पुलको तत्काल पुनर्निर्माण गर्न माग गरेको छ। साथै गल्छी–कल्लेरीटार–फोस्रेटार–केशीखोला–सुनौलाबजार–धादिङबेँसी,मासटार–केउरीनी,बेलिनटार–आदमटार–पिपलटार–परेवाटार–धादिङबेँसी, सांकोस–तिप्लिङ–सोमदाङ तथा धादिङबेँसी–सल्यानटार–आरुघाट सडकको मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ।
संयुक्त बैठकले विपद् व्यवस्थापनमा स्थानीय तहको नेतृत्वलाई प्रभावकारी बनाउँदै राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई तीव्रता दिन सबै सरोकारवाला निकायलाई सहयोगका लागि आह्वान गरेको छ।