स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्ने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा जारी सूचनामा कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने उल्लेख छ ।
कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुन्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ ।
सवारी आंशिक रूपमा बन्द गरेर तुइन खेलामा समय–समयमा खसिरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउनेलगायत काम गर्न लागिएको छ । खस्न सक्ने सम्भावित भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो ।
यो अवधिमा समय–समयमा सवारीसाधन सञ्चालनका निम्ति सडक खुला गरिनेछ । नारायणगढ–मुग्लिन सडक बिहान ८ देखि ८ः३०, १०ः३० देखि ११, दिउँसो १ देखि १ः३०, ३ः३० देखि अपराह्न ४ र साँझ ६ बजेपछिको समयमा खुला गरिनेछ । यसबाहेकको समय उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ ।