नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार देशैभर एकसाथ पालिका तहको अधिवेशन हुँदै छ । यही असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रिया स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरेको हो ।
केही छिटपुट स्थानबाहेक देशभरका वडाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेकाले बुधबारको पालिका अधिवेशन पनि सहज, सौहार्दपूर्ण र भव्य रूपमा सम्पन्न हुने विश्वास कांग्रेस केन्द्रीय निर्वाचन समितिले व्यक्त गरेको छ ।
बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडाहरूमा मंगलबार अधिवेशन सम्पन्न भएको छ भने मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडाहरूमा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
भीषण बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेको रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
पार्टी केन्द्रीय समितिले २०८२ पुस २१ सम्म नवीकरण गरेका क्रियाशील सदस्यहरूलाई समेत समेट्ने लचकतापूर्ण निर्णय गरेपछि पुरानो विवरणमा नयाँ नामहरू समावेश गर्दा केही स्थानमा सदस्यता सूचीलाई अन्तिम रूप दिन सामान्य ढिलाइ भएको निर्वाचन समितिले स्पष्ट पारेको छ ।