खानिखोला । धुनिबेशी नगरपालिकाले वार्षिक समीक्षा कार्यक्रम गरेको छ । नगर कार्यपालिकाको हल खानिखोलामा भएको कार्यक्रममा आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालित योजना तथा कार्यक्रमको बारेमा समीक्षा भएको हो ।
नगरपालिका अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति धादिङका सदस्य उर्मिला रेग्मी, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र अर्याल लगायतको आतित्थ्यतामा भएको कार्यक्रममा नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधीले शाखाबाट गत आर्थिक वर्षमा भएका काम तथा योजना, काम गर्दाको समस्या, चुनौती लगायतका बारेमा विवरण प्रस्तुत गरेका छन् ।

समीक्षा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका, रोजगार, प्राविधीक, लेखा र प्रशासन शाखाले सम्पुर्ण विवरण प्रस्तुत गरेका हुन् । यसैगरी विभिन्न वडाका अध्यक्षहरुले पनि वडाको प्रगती विवरण प्रस्तुत गरेका छन् ।
यस्तै कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख निरु खरेलले सुरुका वर्षहरुमा भन्दा पछिल्लो समय नगरपालिकामा विकास निर्माणका गतिविधी बढेको र यसले आम नागरिकमा हरेक किसिमले सहजता ल्याउने बताउनुभयो ।
यसैगरी जिल्ला समन्वय समितीका सदस्य उर्मिला रेग्मीले समिक्षा वार्षिक कार्यक्रममा सहभागी भएर विषयगत शाखा र वडा अध्यक्षहरुको प्रतिवेदन सुन्न पाउँदा खुसी लागेको भन्दै यस्तो किसिमको प्रयासले जनप्रतिनिधी र कर्मचारी अझै जनउत्तरदायी हुन सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै नगरप्रमुख बालकृष्ण आचार्यले नगरपालिकाको विकासका लागि जनप्रतिनिधी सँगै कर्मचारीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । जनप्रतिनिधी र कर्मचारीको भुमिका अलग-अलग भएपनि नगरको निर्माणमा एउटै आवाज हुनुपर्ने नगरप्रमुख आचार्यको भनाई थियो ।
२०७६ भाद्र २२ गते प्रकाशित