५, फाल्गुण २०७६
काठमाडौं । माघको पहिलो साता उपसभामुखबाट राजीनामा दिएकी तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फे फागुनको पहिलो साता आइपुग्दा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भएकी छिन् । सभामुखको दावेदार रहेकी शिवमाया कानून मन्त्रीमा चित्त बुझाउने अवस्थामा पुगेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको संरक्षणमा रहेको चर्चा चले पनि पूर्वमाओवादी समूहले आफ्नो पूर्ववत् भागवण्डाको आधारमा सभामुख पद छाड्न नमानेपछि मायाले कानून मन्त्रीको शपथ र पदभार पनि ग्रहण गरिसकेकी छिन् ।
संयोग नै भन्नुपर्छ शिवमाया मन्त्री बन्दै गर्दा तत्कालीन सभामुख कृष्णबहादुर महराले पनि बलत्कारको मुद्दामा सफाइ पाएका छन् । अबको योजना के छन् रु कानून मन्त्रालय बाध्यता कि रोजाई रु किन सधैं अस्थिर हुन्छ कानुन ? के मातृशक्तिको विजय भएको हो त रु हामीले यीलगायतका केही प्रश्न नवनियुक्त कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलाई सोधेका छौं ।
तपाईं सभामुखको दावेदार मान्छे कानुनमन्त्री हुनुभएको छ, योजनाबद्ध हो कि आकस्मिक ?
जतिबेला मैले उपसभामुखको हैसियतले काम गरेको थिएँ । मेरो एउटै मात्रै उद्देश्य संसद, प्रतिनिधिसभा र दलबीचको फरकलाई स्टिम बसाल्नुपर्छ भनेर आफ्नो कुराहरू अगाडि बढाएको थिए । संविधानले जे कुरा भनेको थियो, त्योअनुसार काम गरेर म बाहिर निस्किएको हो । माघ ६ गते मैले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि अब यूटर्न गरेर अगाडि बढ्छु भनेको थिए । नेपाली जनता र मुलुकका लागि केही काम गर्छौं भन्ने व्यक्ति कहीँ न कहीँ समावेश भएर काम गर्नुपर्छ भन्ने मेरो उद्देश्य थियो । यूर्टन गरेर अगाडि बढ्ने सन्दर्भमा फिल्डबाट बाहिर बसेर काम गर्नुभन्दा फिल्डभित्रै बसेर काम गर्दा केही प्रभाव रहन्छ भन्ने नै हो । यदि म उपसभामुख नभई सिस्टम बसाल्नुपर्छ भन्दिएको भए त्यसको औचित्य के हुन्थ्यो ?
हामीले हाम्रो संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा एउटा सजिलो माध्यम यो मन्त्रालय हो । सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यसकारणले मैले ट्रयाकलाई चेन्ज गरेर यहाँ आइपुगेको छु । संविधानलाई टेकेर कामहरु गर्छु ।
भनेपछि सभामुख नभएपनि मन्त्री बन्ने योजना पहिले नै थियो ?
योजनाबद्ध होइन । तर, मान्छेको एउटा चिज चाहिँ योजनाबद्ध हुन्छ । मेरो आफ्नो कुरा गर्नुहुन्छ भने राजनीतिमा छिरिसकेपछि यो यो काम गर्छु भन्ने योजना छ । व्यक्तिगत रुपमा मेरो योजना छ ।
यो मन्त्रालय चाँही तपाईंले रोजेको कि नेताहरुले भिराइदिनुभएको ?
यो आवश्यकतले दिएको मन्त्रालय हो । मेरो रुचि, नेताहरुले लिने दिने होइन यो चीज । आवश्कयता हो । मलाई लाग्छ आवश्यकताले यो मन्त्रालय दिँदा उपयुक्त दिँदा हुन्छ भनेर दिएको होला ।
कानून मन्त्रालय ओली सरकारमा साह्रै अस्थिर भएको छ, मन्त्रीहरुले प्रयोग गर्दै हिड्ने परिस्थिति बनेको छ, किन यस्तो हुन्छ रु तपाईंले योजना के छ ?
अगाडि किन अस्थिर भयो, त्यसको जवाफ मसँग छैन । अरुले कसरी प्रयोग गरे मलाई थाहा पनि छैन । अब अस्थिर हुँदैन । अस्थिर हुनेगरी मैले मन्त्रालयलाई प्रयोग गर्दिनँ । यो संस्थालाई प्रयोग गरेर अगाडि हिँड्दिन ।
तपाईंको आगामी योजना के-के छन् ?
१६ वटा मौलिक हकसँग जोडिएका ऐनहरु हामीले निर्माण गरेका छौं । ऐन निर्माण गरिसकेपछि नियमावली बनाउनुपर्ने हुन्छ । मेरो प्रारम्भ नै नियमावली बनाउने कामबाट हुन्छ । बाँकी कामहरु संविधान ऐन कानुनअनुसार नै अन्य मन्त्रालयहरुसँग सहकार्य गर्दै गर्छौै ।
उपसभामुख पदबाट राजीनामा दिँदै गर्दा तपाईंले राजसंस्था सबै मिलेर सहजै फाल्यौं । तर, पितृसत्ताको सोचलाई परिवर्तन गर्न अझै धेरै मेहनत गर्नुपर्ने रहेछ भन्नुभएको थियो । अहिले मातृशक्तिको विजय भएको हो ?
त्यस्तो कुरा होइन । मातृसत्ता र पितृसत्ताको बारेमा एकदिन बहस गरौंला ।
तस्बिरः रासस
प्रकाशित मिति :फाल्गुण ५, २०७६ सोमवार -
१८:५८:०२ बजे