शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि लुकिछिपी भित्रिने क्रम तिव्र

उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि लुकिछिपी भित्रिने क्रम तिव्र

नागरिक पाटी

२७, जेठ २०७७
  • 12.5K
    SHARES
  • उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि लुकिछिपी भित्रिने क्रम तिव्र

    काठमाडौं । काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन । पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर मानिस आउने गरेका छन् । प्रहरीले कडाइ गरेको बताए पनि त्यसरी छलेर आउने क्रम देखिएको उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

    images
    images

    पछिल्लो समयमा काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । चन्द्रागिरि, टोखा, मैतीदेवी, बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा बस्ने व्यक्तिमा कोभिड १९ देखिएको छ । मुलुकभर नै रोगको सङ्क्रमण दर बढ्दै जाँदा उपत्यकाको नाका सिल गर्ने कुरामा भने कुनै कञ्जुस्याईँ गर्न नहुने सचिव श्रेष्ठ बताउछन् । उनी भन्छन्, “बन्दाबन्दीलाई आन्तरिकरुपमा केही खुकुलो बनाउने विषयमा हाम्रो सहमति हो तर नाकाको आवागमन भने पूर्ण निषेध गर्नैपर्छ, नत्र उपत्यकामा सङ्क्रमण दर धान्न गाह्रो हुनसक्छ ।”

    सरकारले बन्दाबन्दीको अवधी लम्याउँदै उपत्यका प्रवेशमा कडाइ गरेको जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा उपत्यकामा हुने आवागमनमा थप कडाइ गरेको प्रष्ट्याउछन् । सो निर्णयलार्ई ७५ वटै जिल्लामा परिपत्र गरेर पठाइसकिएको उनको भनाइ छ ।

    मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र पनि पठाएको छ । उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनका लागिबाहेक पूर्णरुपमा सिल गर्ने र लुकीछिपी आउने क्रमलाई रोक्ने गृहको निर्णयमा उल्लेख छ । श्रेष्ठका अनुसार उक्त निर्णय अझै प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन ।

    गृहमन्त्रालयले बन्दाबन्दी (लकडाउन) प्रभावकारी भए पनि विभिन्न बहाना बनाएर आवागमन हुने गरेकाले पूर्णरुपमा पालना हुन नसकेको निष्कर्ष निकाल्दै एक हप्ता अघि आवागमनमा अझै कडाइ गर्ने निर्णय गरेको थियो । समन्वयात्मक रुपमा काम गर्न भनिए पनि उपत्यकाको स्थानीय तह, प्रहरी र प्रशासनको समन्वयमा पनि कमि देखिएको छ ।

    पछिल्लो समयमा उपत्यका भित्रिने मानिसको अभिलेख राख्न थालिएको छ । गृहमन्त्रालयले स्थानीय तहको नेतृत्वमा प्रशासनको समन्वयमा लुकीछिपी प्रवेश गर्नेको खोजी गरी लगत सङ्कलन गर्ने निर्णय यसअघि गरेको थियो ।

    स्थानीय तहसँगको समन्वयमा सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको जाँच र निगरानीमा थप कडाइ गर्ने भनिएको थियो तर नाकामा टिपोट गरेर अभिलेख राखिएको भए पनि ती मानिस कहाँ, किन र कसरी जान्छन् यकिन गर्न सकिएको छैन । आएका मानिस कुन स्थानीय तहमा गएर बसे भन्ने कुराको जानकारी नआएसम्म जोखिम कायम नै हुने मध्यपुरथिमी नगरपालिकाका प्रमुखसमेत रहनुभएका उपत्यका नगरपालिका फोरमका सचिव श्रेष्ठ बताउछन् ।

    उपत्यकामा मानिसको प्रवेश हुँदा जनघनत्व बढ्छ । त्यसबाट रोगको सङ्क्रमण फैलियो भने नियन्त्रणमा समस्या पैदा हुन्छ । स्वास्थ्यकर्मी भारतीय सीमावर्ती क्षेत्रमा उपचारमा खटिएका बेला उपत्यकामा जोखिम बढ्यो भने त्यसले ठूलो असर गर्नेतर्फ बेलैमा ध्यान दिनुपर्ने बताउछन् फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन ।

    पछिल्लो समयमा सरकारले कुनै पनि जिल्लामा मानिस आएमा स्रोत स्थानमै रोक्ने गरी सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नै नाकामा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउछन् ।

    काठमाडौं आउनका लागि प्रवेश गर्न चाहने व्यक्तिले प्रवेश गर्नुपूर्व उपलब्ध भएसम्म आरडीटी परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको थियो । उक्त रिपोर्टका साथ उपत्यका प्रवेशका लागि गृहमन्त्रालयमा अनुमति माग्नु पर्नेछ । उपत्यका आउने सवारीलाई प्रवेश बिन्दुमा पुग्नुअगावै प्रस्थान बिन्दुमा नै रोक्न भनिएको छ ।

    काठमाडौंका प्रमखु जिल्ला अधिकारी जनकराज दाहाल गृहमन्त्रालयबाट आएको परिपत्रअनुसार उपत्यकाको सुरक्षा व्यवस्था र लकडाउन कार्यान्वयनमा स्थानीय प्रशासन थप सक्रिय भएको बताउछन् । उपत्यकामा बिहानीको समयमा भने मानिसको चाप भित्री बजार क्षेत्रमा अत्यधिक बढ्न थालेको छ । बिहान १० बजेसमम्मनै चाप रहने गरेको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - १०:४६:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology