काठमाडौं । कुवेतबाट आममाफी पाएका नेपालीहरू आज स्वदेश फर्किने भएका छन्। उनीहरु बुधबारै स्वदेश फर्किने भनिए पनि अन्तिम समयमा कार्यातालिका परिवर्तन भएको थियो।
यसअघि कुवेतस्थित नेपाली दूतावासकी द्वितीय सचिव जानकी ओझाले आममाफी पाएका नेपालीलाई बुधबार जजिरा एयरवेजको दुईवटा फ्लाईटमार्फत स्वदेश पठाइने जानकारी दिएकी थिइन्।
सो उडान हिजो बुधबार हुन नसक्नुको प्रष्ट कारण भने खुलाइएको छैन। तर नागरिक उड्डयन प्राधिकरणले विदेशबाट नेपाली लिएर आउने जहाजलाई दिउँसो ३ बजेपछि अवतरण अनुमति नदिने भनेपछि हजिो बुधबार ३ बजे अगावै अवतरण गर्न नसक्ने भएकाले बिहीबार मात्र उडान गर्न लागिएको आशंका गरिएको छ। प्राधिकरणले यसअघि पनि कूटनीतिक माध्यमबाट हुने उडानका लागि मात्र अवतरण गर्न अनुमति दिइने बताएको थियो।
उडान बुधबार नै हुने कुरा थियो। केही प्राविधिक कारणले उडान रोकिएको हुन सक्छ,’ बुधबार उडान रोकिएपछि दूतावासकी द्वितीय सचिव ओझाले भनेकी थिइन्। सो उडानमार्फत् ३ सय जनालाई नेपाल ल्याइने छ।