काठमाडौं । नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्ममा नेपालमा कुल संक्रमितको संख्या ५७६० पुगेको छ । हालसम्म कोरोना संक्रमण भई उपचाररत ९ सय ७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएका ६१ सहित अहिलेसम्म ९७४ जना डिस्चार्ज भएर घर फर्किएका छन्।
हालसम्म देशभर पीसीआर विधिबाट एक लाख ३३ हजार ३७७ जनाको नमूना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा छ हजार ८९ जनाको परीक्षण भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा आरडीटी विधिबाट २० हजार १३९ जनाको परीक्षण गरिएको छ। आजसम्म आरडीटी विधिबाट दुई लाख १० हजार ७२१ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। एक लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा छन्।